
हुलाकी न्यूज, काठमाडौं । विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच चुनावमा सहकार्य हुने भनिएपनि अन्तिम समयमा सहकार्य हुन सकेन ।
सहकार्यका लागि गच्छदार र यादवबीच बारम्बार छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । छलफलमा यादवले आफु अधिकांश स्थानमा जित्ने दाबी गरेपछि गच्छदार पछि हटेका छन् ।
विराटनगर महानगरपालिकामा गच्छदारले नेकपा एमालेसँग सहकार्य गरेरको छ भने यादवले माओवादी केन्द्रसँग सहकार्य गरेको छ ।
यादवले नयाँ शक्ति पार्टीसँग औपचारिक सहकार्य गरेपनि त्यसको प्रभाव मधेशमा पर्न सकेको छैन ।
संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले हुलाकी न्यूजसँग भने,‘गच्छदारसँग सहकार्य हुन सकेन । तर प्रयास जारी छ । अन्य स्थानहरुमा स्थानीय स्तरबाट सहकार्य हुँदैछ ।’
यता नेपाल लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देवले हुलाकी न्यूजसँग भने,‘हाम्रो अध्यक्षले प्रयास गर्नु भयो । तर उपेन्द्र जीको हठका कारण हुन सकेन । उहाँलाई लाग्छ उहाँ सबै ठाउँमा जित्दै हुनुहुन्छ ।’
विराटनगरमा आफुहरुले एमालेसँग सहकार्य गरेको बताउँदै देवले अन्य स्थानमा अरु पार्टीहरुसँग सहकार्य भइरहेको बताए ।



