लाहान । पछिल्लो समय मधेशका जिल्लाहरुमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकहरुले देखाएको छ । मध्यमधेशको सिरहामा यसै आर्थिक वर्षमा ६७ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ६७ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्नेमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेहरुमध्ये झुन्डिनेको संख्या बढी रहेको छ। चालु आ.व.को जेठ मसान्तसम्म ३७ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने त्यसपछि विष सेवन गरी आत्महत्या गर्नेको संख्या २६ जना रहेको छ।

त्यसैगरी, आफ्नै शरीरमा आगो लगाई आत्महत्या गर्नेहरु  चार जना रहेको जिल्ला प्रहरी कार्यालयको जघन्य अपराध अन्तर्गतको तथ्याङ्कमा उल्लेख छ।

किन गर्छन् आत्महत्या?

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार जीवनबाट निराश हुने विभिन्न कारणमध्ये मानसिक तनाव र समस्यासँग सामाना गर्न नसक्नेहरु आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्छन्। पारिवारिक र व्यक्तिगत सम्बन्धमा दरार आउनु, अत्यन्त मन मिल्नेसँगका अकस्मात मनमुटाव, सामाजिक र पारिवारिक दबाब, लेनदेन लगायतका कारणले आत्महत्या गर्नेहरुको संख्या बढेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए।

सिरहाका विभिन्न ठाउँमा पछिल्लो आ.व. २०७२/०७३ मा जिल्लामा ५५ वटा र आ.व. २०७१/०७२ मा ५० वटा आत्माहत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आत्महत्या गर्नेहरुको उमेर समूह नखुलाइएको भएपनि अधिकांश १८ वर्षदेखि मुस्किलले ५० वर्षसम्मको रहेको प्रहरीले जनाएको छ। -थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.