हुलाकी न्यूज, काठमाडौं । मिथिला पेन्टिङ क्षेत्रका कलाकारहरुले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पुरस्कार वितरणमा राजनीतिक हावी भएको आरोप लगाएका छन् । उनीहरुले प्रतिष्ठान अन्तरगतको लोककलाको क्षेत्रमा प्रदान गरिएको पुस्कार राजनीतिक दबाब र नातावादको प्रभावले वितरण गरिएको आरोप लगाएका छन् ।
मंगलबार ११ जना कलाकारहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठान अन्तरगतको लोककला विभागका विभागीय प्रमुख एससी सुमन र निर्णायक मण्डलका सदस्यहरुले राजनीतिक दबाब र नातावादको कारणले अनउपयुक्त व्यक्तिलाई पुरस्कार प्रदान गरेको जनाएको छ । अमुक राजनीतिक दललाई खुशी पार्न सिकारु कलाकार एवं सांसदकी श्रीमतिलाई पुस्कार प्रदान गरिएको प्रति विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ ।
उनीहरुले पुरस्कार छनौट प्रक्रिया त्रुटीपूर्ण रहेको भन्दै हालको निर्णय खारेज गरी पुर्नविचार गर्न माग गरेका छन् ।
यता विभागीय प्रमुख एससी सुमनले सबै प्रक्रिया पुरा गरी पुरस्कार दिइएको बताउँदै असन्तुष्टि आउन स्वभाविक रहेको बताए । सुमनले हुलाकी न्यूजसँग भने,‘छनोट समितिको निर्णय अनुसार सबै क्राईटेरिया मिट गरेपछि पुरस्कार दिइएको हो । निर्णायक समितिले बुझाएको प्रतिवेदन सबैले पढ्न सक्छ । कुनै राजनीतिक दबाब अथवा नातावादका कारण पुरस्कार दिइएको होइन ।’




