पुरन साह, जनकपुरधाम, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले धनुषाको जटही नाका बन्द गरेका छन् । पूर्व निर्धारित कार्यक्रम बमोजिम जटही नाकामा धर्ना दिँदै उनीहरुले नाकाबन्दी गरेका हुन् । नेपाल र भारतको सीमा बीचमा रहेको जमुनी पुलमा धर्ना दिएर नाका पुरै ठप्प पारिएको हो । लोकतान्त्रिक मधेशी मोर्चाका चारै दलका जिल्ला अध्यक्ष र संघीय मोर्चाका नेताहरु समेत सामूहिक रुपमा धर्नामा बसेका थिए ।

मोर्चाको धर्नासहितको नाकाबन्दीका कारण सीमामा आवतजावत तथा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । धर्नामा बसेका सदभावना पार्टीका धनुषा अध्यक्ष संजय कुमार सिंहले डेढ महिनाको लगातारको बन्दले पनि मुख्य तीन दल मधेशी देशको जनता नै नभएको जस्तो जबरजस्ती अगाडि बढिरहेको र मधेससँग रोटीबेटीको सम्बन्ध रहेको भारतविरुद्व गलत टिप्पणी गरेर सम्बन्ध बिर्गान चाहेको भन्दै नाकाबन्दी गरिएको बताए ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका महिला नेतृहरुको अगुवाइमा जनकपुरमा विशाल महिला अधिकार जुलुस निकालिएको छ । मोर्चाका नेताहरु नाकाबन्दी गर्न धनुषाको जटहीमा धर्ना दिइरहेका वेला महिला नेृतहरुको प्रयासमा निकालिएको जुलुसमा उल्लेख्य सहभागिता देखिएको छ ।
संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सदभावना र तमसपाका महिला नेतृहरुको नेतृत्वमा निकालिएको जुलुसमा गाँउगाँउबाट महिलाहरु आएर सहभागिता जनाएका छन् । जुलुस देखेर जनकपुरका स्थानीय महिलामा पनि उर्जा थपिएर उनीहरु समेत जुलुसमा सहभागी भएका थिए । पुरुष नेताहरु नाकाबन्दीका लागि सीमाक्षेत्रमा खटेका बेला महिला नेतृहरुले आन्दोलनलाई अगाडि बढाउन सहरभित्र विशाल जुलुस निकालेको जुलुसमा सहभागी नेतृहरुले बताएका छन् ।
तस्विर : जटही नाकामा धर्ना दिएर बसेका आन्दोलनकारी/पुरन साह




ke madheshma aandolnma prasasn le gareko hastxep ramro ho ? yasma sarkarle pakx pat kin gare?