पुरन साह, जनकपुरधाम, ८ असोज । मधेश अधिकार संघर्ष समितिको संयोजनमा संयुक्त यूवा संघर्ष समिति जनकपुरले जनकपुरको ब्रहमपुरीस्थित राष्ट्रपति डा. रामवरण यादवको घरमा कालो झण्डा गाडेका छन् । बिहिवार मन्त्री विमलेन्द्र निधिसहित विभिन्न सभासदको घरमा कालो झण्डा झुन्ड्याएका युवाहरु शुक्रवार पनि पुर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेस, एमाले र एकीकृत माओवादीका सभासदहरुको घरमा कालो झण्डा टाँग्दै विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरको ब्रम्हपुरीस्थित राष्ट्रपति डा. यादवको निवासमा उनका पुत्र सभासद डा. चन्द्रमोहन यादवको निवास रहेको भन्दै यूवाहरुले कालो झण्डा गाड्दै नाराबाजी गरेका थिए । त्यसै गरी कांग्रेसकै लीला कोईराला, मिनाक्षी झा, एमालेका शितल झा, शत्रुघन महतो, एकीकृत माओवादीका राम सिंह यादव र प्रतीक्षा तिवारीको घरमा कालो झण्डा गाड्दै नाराबाजी गरेका हुन् । संविधानसभामा उपस्थित भएर पनि मधेशीको अधिकार विहीन संविधान जारी भइ रहँदा कांग्रेस, एमाले र एकीकृत माओवादीका आफ्ना प्रतिनिधिहरुले रचनात्मक विरोध समेत नगरेको भन्दै यूवाहरुले कालो झण्डा गाडेका हुन् ।

राष्ट्रपति डा. यादवको निवासमा भारी संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यद्दपी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दै कालो झण्डा गाड्दा प्रहरीले हस्तक्षेप गरेनन् । यूवाहरुको कार्यक्रममा समाजवादी विद्यार्थी संघ, जनकपुरका महावीर, राम, गणेश सहित दर्जनजति क्लबका यूवाहरु तथा मधेश अधिकार संघर्ष समितिका अगुवाहरुको सहभागिता रहेको थियो । उनीहरुले कालो झण्डा गाडेर घरको मुल गेट अगाडि एक मिनेट मौन धारण गरेर समेत विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.