हुलाकी न्यूज, काठमाडौं । पाँच नम्बर प्रदेशको आन्दोलनलाई थप सशक्त बनाउन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ लागेका छन् । महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवलगायतका नेताहरु पश्चिमतर्फ लागेका हुन् ।
शुक्रबार साँझ आन्दोलनका थप कार्यक्रम घोषणा गरी पश्चिमको आन्दोलन चर्काउनु पर्ने र निर्वाचन विथोल्नु पर्ने ठहर गरी नेताहरु त्यसतर्फ जान लागेको राजपाका प्रवक्ता कृष्णा सिंहले बताए ।
हुलाकी न्यूजसँग कुरा गर्दै प्रवक्ता सिंहले भने,‘निर्वाचन यथाबत रहेका क्षेत्रमा निर्वाचन विथोल्न अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ केन्द्रीत हुनु भएको छ । शनिबार विहान महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव नवलपरासी हुँदै थरुहटका जिल्लाहरुमा पुग्नु हुनेछ ।’
सिंहले सरकारले एकतर्फी निर्णय गरी आन्दोलनलाई मत्थर गर्न खोजेको आरोप लगाउँदै आन्दोलन नरोकिने बताए । उनले झापादेखि कञ्चनपुरसम्म निर्वाचन सम्बन्धी कुनै पनि गतिविधि हुन नदिने निर्णय संघीय गठबन्धनको भएको र सोही अनुरुप आन्दोलन अगाडि बढ्ने बताए ।



