रमेश ठाकुर, रौतहट ८ असोज । मधेश आन्दोलनको बहानामा व्यक्तिगत सुरक्षाको कमी देखाएर वन रक्षकहरु गस्तिमा जान छाडेपछि अहिले रौतहटको वन तस्करको धन बनेको छ । रौतहट जिल्लाको उत्तरी भाग चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने वनबाट काँचो सालका रुख काटेर तस्करी गर्न लागेको अवस्थामा प्रहरीले बिहिबार राती एक गाडी काठ पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
तस्करहरुले बन्दको फाईदा उठाउँदै सालको रुख काटेर नजिकै रहेको चिरानबाट विभिन्न साईजको गुलिया बनाई ना १ च ८८०३ नम्बरको पिकअप भ्यानमा काठ लोड गरी लगिरहेको अवस्थामा चन्द्रपुर नगरपालिकाको पौराईबाट प्रहरीले राती १ बजेको समयमा पक्राउ गरेको हो ।
स्थानीय बासिन्दाको सुराकीका आधारमा प्रहरी चौकी पौराईले रातिको समयमा गस्ती गर्न जाँदा तस्करहरुले प्रहरीलाई देख्नासाथ गाडी छाडेर भागेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादवले बताए ।
स्थानीय बासिन्दाले पौराई र जुडिबेला रेन्जपोष्टका वन कर्मचारीकै मिलेमतोमा पछिल्लो समय तिब्र रुपमा काठ चोरी तस्करी हुँदै आएको बताएका छन् । जुडिबेला रेन्जपोष्टको जंगलबाट काटिने काँचा सालका रुखहरु चिरान गरेर बिभिन्न साईजको बनाएर साना गाडीमा हालेर सर्लाहीतर्फ लगिने गरेको समेत स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।
प्रहरीले बरामद गरेको ८३.८ क्युफिट काठको हालको बजार मूल्य तिन लाख पचास हजार रहेको जिल्ला वन कार्यालय रौतहटका सहायक वन अधिकृत अखिलेस गुप्ताले जानकारी दिए । गुप्ताले बन्दको फाईदा उठाउँदै जिल्लाको राष्ट्रिय वनबाट पछिल्लो समयमा काँचो सालका रुखको चोरी तस्करी बढेको स्विकार गरेका छन् ।



