हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सरकारले चुनावको मिति सार्ने भएको छ । विहीबार निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको नयाँ मिति तोकिनेछ ।

तर आफुहरुको माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राजपाले लिएको छ । बुधबारको बैठकमा निर्वाचनको मिति सार्न सरकार तयार भएपनि राजपा निर्वाचनमा जान तयार भएन ।

बैठकमा एमालेले निर्वाचनको मिति सारिए राजपाले लिखित सहमति गर्नु पर्ने अडान राखेको थियो । अहिले संविधान संशोधन र स्थानीय निकायको संख्या बढाउन नसकिने एमालेका नेताहरुले बताउँदै बाँकी प्राविधिक कामहरु गर्ने प्रतिवद्धता जनाएका थिए । तर त्यस वापत राजपालाई निर्वाचनमा सहभागी हुने लिखित सहमति गर्नु पर्ने अडान एमालेको थियो ।

बैठकमा राजपाका नेता महन्थ ठाकुरले भने, ‘हामीले कयौं लिखित सहमति गरिसकेका छौं । एउटा पनि पालना भएको छैन । झन् एमाले आफैले प्रस्ताव गरेको कुराहरुबाट पछि हटेको छ । अव त्यही एमालेसँग के लिखित सहमति गर्नु ?’

ठाकुरले एमालेसहित सबै दलसँग संविधान संशोधनका लागि लिखित प्रतिबद्धता माग गर्नु भएको थियो । आफुहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन ठाकुरले माग गर्दै निर्वाचनको मिति मात्रै सारेर चुनावमा भाग नलिने प्रष्ट पार्नु भयो ।

बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राजपाका नेता शरत् सिंह भण्डारीले वार्ता सकारात्मक भएको बताउँदै आफुहरुले निर्वाचनको वातावरण बनाउन माग गरेको बताउनु भयो । उहाँले विहीबार विहान १० बजे पुनः छलफल हुने जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.