दशरथ भण्डारी, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले ट्यांकसहितको गस्ती थालेको छ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीको दोस्रो दिनको बन्दका क्रममा नेपाली सेना ट्यांकसहित जलेश्वरमा देखिएको हो ।
नेपाली सेनाले आन्दोलनको समयमा अप्रिया घटना नहोस् भनी ट्यांकसहित गस्ती थालेको सेनाका अधिकारीले अनौपचारिक रुपमा बताएका छन् ।
सेनाको ट्यांकर देखेर जलेश्वरका वासिन्दाहरु त्रसित भएका छन् । यसअघिको मधेश आन्दोलनको क्रममा जलेश्वरमा सुरक्षाकर्मीले आठ जना भन्दा बढी मधेशीको गोली हानी हत्या गरेको थियो ।
यता राजपाले गरेको बन्दमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले प्रत्येक चौकमा ठूलो संख्यामा प्रहरी तैनात गरेको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले चाहिने जति संख्यामा प्रहरी खटिएको बताउँदै केही घटना बाहेक बन्द शान्तिपूर्ण रहेको प्रतिक्रिया हुलाकी न्यूजलाई दिए ।



