हुलाकी न्यूज, जनकपुरधाम । संविधान संशोधनसहितको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टीको बन्दका कारण मधेशका जिल्लाहरु मंगलबारदेखि ठप्प भएका छन् । राजपाका कार्यकर्ता तथा प्रहरीबीच केही स्थानमा झडप हुनुका साथै विभिन्न स्थानमा तोडफोडसमेत भएको छ ।
मंगलबार विहानैदेखि राजविराज पुर्णरुपमा ठप्प रहेको छ भने चुनाव सम्बन्धी कुनै पनि गतिविधि हुन नसकेको स्थानीय पत्रकाहरुले हुलाकी न्यूजलाई जनाएका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच समान्य झडप भएको छ ।
यता जनकपुरधाम पनि पूर्ण रुपले ठप्प रहेको छ । विहान बजार बन्द गराउने क्रममा अवस्था तनावग्रस्त भएपनि अहिले बजार तथा यातायात पूर्ण रुपमा ठप्प भएको छ । केही सवारी साधानमा तोडफोडसमेत गरिएको छ ।
त्यस्तै, महोत्तरीको औरहीमा एमाले सांसद दिपनारायण साहको गाडी तोडफोड गरिएको छ । साहमाथि हातपातको प्रयास भएपछि उनी बर्दिबास प्रहरी कार्यालयमा बसेका छन् ।
सिरहाको लाहानमा एमालेको प्रचार प्रसार सामाग्री जलाइएको छ ।
बन्दले विराटनगरसहित आसपासका सहरहरु प्रभावित बनेका छन् ।
सर्लाहीको मलंगवा र रौतहटको गौर पूर्णरुपले ठप्प रहेको छ ।
कपिलबस्तु, नवलपरासी र रुपन्देहीमा पनि विभिन्न स्थानमा झडप हुँदा करिब दुई दर्जन राजपाका नेताहरु पक्राउ परेको मानवअधिकारकर्मी शैलेन्द्र अम्बेडकरले हुलाकी न्यूजलाई बताएका छन् ।
त्यस्तै, थरुहटमा पनि राजपाको प्रदर्शन जारी रहेको छ । कैलाली र कञ्चनपुरमा बन्दको आंशिक प्रभाव परेको छ । त्यस्तै, पूर्वको लिम्बुवानमा पनि बन्दको प्रभाव परेको छ ।
मंगलबारदेखि राजपाले घोषणा गरेको बन्द शुक्रबारसम्म चल्नेछ ।



