हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कांग्रेस–माओवादी(केन्द्र)सँग तीन बुँदे सहमति गरेर ‘फेससेभ’ गरेका छन् । उनीहरुले तेस्रो मधेश आन्दोलनलाई स्थगित गर्दै निर्वाचनमा जाने बाटो खोलेका छन् ।
तीन बुँदे सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई राजपा र फोरमले समर्थन गरेको छ । यसअघि पनि यिनै विषय बस्तुमाथि कांग्रेस–माओवादीसँग मधेशी मोर्चाले तीन बुँदे सहमति गरेको थियो ।
मंगलबार भएको सहमतिमा यसअघि भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि पुनः प्रतिवद्धता व्यक्त गरिएको छ ।
जनसंख्याको आधारमा स्थानीय निकायको संख्या बृद्धि गर्ने माग गर्दै आएका राजपा र फोरम नेपालल पछि हटेको छ ।दुबै पार्टीले राजनीतिक सहमतिका आधारमा स्थानीय निकायको संख्या बृद्धि गर्नमा सहमत भएका छन् ।
संविधान संशोधन, मुद्दा फिर्तालगायतका काम प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ । सहमतिको अन्तिम बुँदामा प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति देउवालाई समर्थन गर्ने जनाइएको छ ।
लिखित रुपमा तीन बुँदे सहमति भएपनि केही विषयमा मौखिक सहमति पनि भएको छ । बैठकमा सहभागी नेताहरुले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार देउवाले संविधान संशोधन प्रक्रिया अगाडि बढाएको खण्डमा राजपा स्थानीय निकायको निर्वाचनमा सहभागी हुनेछ ।
सरकारले राजपालाई निर्वाचनमा जाने बाटो खोल्नका लागि मंगलबार कै व्यवस्थापिका संसद बैठकको कार्यसुचीमा संविधान संशोधन पनि समावेश गरेका थिए । संसदको कार्यसुचीको ५ देखि ७ नम्बरमा संविधान संशोधन राखिएको थियो तर अन्तिममा संविधान संशोधन कार्यसुचीबाट हटाइएको छ ।




