
हुलाकी न्यूज, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्ने आश्वासन दिएपछि संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।
फोरम नेपालको संसदीय दलको बैठकले देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । फोरमका प्रमुख सचेतक डा.शिबजी यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै देउवा नेतृत्वको सरकारले संविधान संशोधन गर्ने वातावरण बनाउने विश्वास दिलाएपछि समर्थन गरेको बताए ।
डा.यादवले अन्य कुनै उम्मेदबार नभएकोले देउवालाई समर्थन गरेको र देउवा पनि माग सम्बोधनको पक्षमा सकारात्मक रहेकोले समर्थन गरिएको बताए ।
हुलाकी न्यूजसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले देउवालाई समर्थन गरेको तर सरकारमा सहभागी हुने सम्भावना नरहेको बताए । संविधान संशोधन लगायत मधेशका मागहरु पुरा नभएसम्म सरकारमा सहभागी हुनुको औचित्य नरहेको यादवले बताए ।
समाचार स्रोतका अनुसार देउवाले संसदमा दुई तिहाई पुर्याएर २५ गतेसम्म संविधान संशोधन गरिसक्ने रोडम्याप सुनाएको छ । संविधान संशोधन पछि अन्य दलहरु पनि निर्वाचनमा सहभागी हुनेछन् । स्थानीय निर्वाचन सम्पन्न भएपछि फोरम नेपाल पनि सरकारमा सहभागी हुने सम्भावना रहेको नेताहरुले बताए ।



