
हुलाकी न्यूज, काठमाडौं । नयाँ प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रिय जनता पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने तयारी गरेको छ ।
आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति देउवालाई सत्ता साझेदार माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र अन्य साना दलले गर्ने जनाइसकेका छन् । राजपाले देउवालाई समर्थन गर्ने औपचारिक निर्णय नलिएपनि राजपाका नेताहरुले देउवालाई समर्थन गर्ने जनाएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपाका अधिकांश नेताहरुले देउवालाई समर्थन गर्ने बताएका छन् । उनीहरुले एमालेको उम्मेदबारलाई समर्थन गर्ने अवस्था नरहेको बताउँदै देउवा सरकारबाट संविधान संशोधनको आशा रहेको बताउँदै देउलालाई समर्थन गर्न सकिने बताए ।
यता देउवाले औपचारिक रुपमा छलफल गरी राजपाका नेताहरुसँग समर्थन मागेको छैन । हुनत् देउवाले समर्थनका लागि सबै पार्टीलाई पत्र पठाएको छ तर नेतृत्व तहमा छलफल भने भएको छैन । देउवालाई राजपाले समर्थन नगरेपनि बहुमत पुगी सकेको छ ।
राजापका नेता शर्त सिंह भण्डारीले हुलाकी न्यूजसँग भने,‘हामी संसदको पाँचौं ठूलो दल हौं । संसदमा सरकार निर्माण हुँदा हामी टुलुटुली बसेर हेर्ने होइन । हाम्रो पनि भुमिका हुन्छ । अहिलेसम्म देउवाले हामीसँग समर्थन मागेको छैन । मागेको खण्डमा समर्थन गर्ने निर्णय हुन सक्छ ।’
आफुहरु सरकारमा सहभागी नहुने बताउँदै भण्डारीले मधेशीको मागको पक्षमा अहिलेको सरकार देखिएकोले समर्थन गर्नु अनउपयुक्त नहुने बताए ।
यता राजपाले आफ्ना संसदहरुलाई शनिबार साँझसम्म काठमाडौंमा आइपुग्न र आइतबार संसदमा अनिर्वाय उपस्थितिका लागि निर्देशन दिएको छ ।



