हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र प्रमुख तीन दलबीच सहमति हुन नसके पछि राजपाले आन्दोलन चर्काउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजपासहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको छलफलमा सहमति हुन सकेन ।
शनिबार दिउँसो पाँच बजेबाट सुरु भएको छलफलको एक घण्टा नपुग्दै राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बैठकबाट बाहिरिएका थिए । अन्य नेताहरुले राती करिब ९ बजेसम्म निरन्तर छलफल गरे पनि सहमति हुन सकेन ।
बैठकमा सहमति हुन नसकेपछि राजपाका नेताहरुले हुलाकी न्यूजसँग कुराकानी गर्दै आन्दोलन थप सशक्त बनाउने बताएका छन् ।
बैठकमा प्रमुख तीन दलले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेको थियो । तर राजपाका नेताहरुले संविधान संशोधन विना कुनै पनि निर्वाचनमा सहभागी नहुने बताएका थिए ।
बैठकमा संविधान संशोधन अहिले सम्भव नभएको भन्दै राजपालाई पार्टी दर्ता र चुनावको तयारीका लागि दुई सातासम्म निर्वाचन सार्न सकिने प्रमुख दलका नेताहरुले आश्वासन दिएका थिए ।
बैठकमा सहभागी राजपाका नेता शरत्सिंह भण्डारीले हुलाकी न्यूजसँग भने,‘बैठकमा उहाँहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भयो । पुरानै कुराहरु उहाँहरुले दोहर्याउनु भयो । हामीले पनि हाम्रो अडान राख्यौं । संविधान संशोधन विना हामी निर्वाचनमा जाँदैनौं ।’
‘बैठकमा उहाँहरुले संविधान संशोधनको कुरा गर्नु भएन । हाम्र अन्य माग पुरा गर्ने विषयमा कुरा गर्नु भएन । हामीलाई मात्र पार्टी दर्ता र चुनाव चिन्हको कुरा गर्नु भयो ।’ बैठकमा सहभागी राजपाका नेता अनिल झाले भने, ‘उहाँहरु निर्वाचनको मिति सार्न तयार देखिनु भयो तर संविधान संशोधन गर्न चाहेको जस्तो देखिनु भएन ।’
फाइल फोटो



