अर्कना खातुन
संसार भरिका मुस्लिम समुदायले मनाउने ठूलो पर्व ईद उल फित्र सकिएको अढाई महिनापछि मुस्लिम समुदायले मनाउने अर्को पर्व इर्द उल जोहा यानी बकरीद, कुर्बानी मनाईन्छ । अंग्रेजीमा यसलाई सेक्रिफाईज पनि भनिन्छ । जसरी ईदमा एक महिने व्रत पश्चात सबै तिर मिठो सेवई खाई खुसी साटासाट गरेर मनाईन्छ, त्यसै गरी बकरीदमा अल्लातालालाई केहि जनावरहरुको कुर्बानी दिई मनाईने गरिन्छ । यो विशेष गरी तीन दिनसम्म मनाईन्छ ।

कुर्बानीमा सबै प्रकारका जनावरको कुर्बानी गर्न मिल्दैन । मुस्लिम धर्म अनुसार यस दिनमा अल्लाहतालालाई विशेष गरी केही जनावरहरुको मात्र कुर्बानी दिईने गरीन्छ, जस्तैः खसी, भेडा, उँट, राङ्गा, आदि । कुर्बानी यानी सेक्रिफाईज गर्नका लागि धेरै नियमको पालना गर्नुपर्छ । कुर्बानी दिन धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ । कुर्बानी दिइने जनावरहरुलाई विशेष तरिकाले तयार गरिएको हुनुपदर्छ । जुन जनावरको कुर्बानी दिईन्छ त्यस जनावरको उमेर पुगेको हुनु पर्छ । कुनै प्रकारको रोग लागेको हुनुहुँदैन । हेर्दा राम्रो अर्थात हृष्टपुष्ट देखिने जनावरको मात्र कुर्बानी अल्लाहतालाले अपनाउनु र कबुल गर्नुहुन्छ ।

कुर्बानी गर्दा सबभन्दा पहिले घरको मुल व्यक्तिको नाममा गर्ने गरिन्छ अनि त्यस पछि घरकै अरु बाँकी सदस्यहरुको नाममा क्षमता अनुसार जती पनि कुर्बानी गर्न सकिन्छ । इच्छा अनुसार मृतक व्यक्तिका नाममा पनि गर्न सकिन्छ । कुर्बानी किन र कसरी सुरु भयो भन्दा, प्राचिनकाल देखिनै यो पर्व मुस्लिम समुदायले हर्सउल्लासका साथ मनाउँदै आएका छन् ।

धेरै वर्ष पहिले ईब्राहिम अलै सलाम यानी कि मुस्लिमहरुका एक पैगम्बर (अल्लाहको संदेश पृथ्वीसम्म पुर्याउने), उनी अल्लाहलाई धेरै मान्थे । एक रात अल्लाहले साँच्चिकै मलाई कतिको मान्ने र माया गर्नेरहेछ भन्दै पैगम्बर ईब्राहिम अलै सलामको परिक्षा लिनु भयो ।

परिक्षा लिने क्रममा अल्लाहतालाले पैगम्बर ईब्राहिम अलै सलामलाई एउटा सपना देखाउनुभयो । सपनामा अल्लाहको आदेश थियो, मेरो निम्ती कुर्बानी गर । भोलि पल्ट पैगम्बर ईब्राहिम अलै सलामले अल्लाहको आदेश अनुसार १०० वटा उँटको कुर्बानी दिए । तर, अल्लाहको लागि गरिएको कुर्बानी अल्लाहलाई मंजुर भएन र फेरि दोश्रो पटक अल्लाहले सपना देखाउनु भयो, अनि आदेश दिनु भयो, मेरो निम्ती कुर्बानी गर ।

पैगम्बर ईब्राहिमले भने, ‘मैले तपाईको आदेशको पालना गरी तपाईको लागि १०० बटा उँटको कुर्बानी गरिसकेको छु ।’ अल्लाहले त्यो अस्विकार गरि फेरि आदेश दिनुभयो । त्यसै गरी अल्लाहको आदेशको पालना गरी पैगम्बर इब्राहिमले फेरि कुर्बानी गरे । तर, यस पटकको कुर्बानी पनि अस्विकार भयो । फेरि त्यसै गरी तेश्रो पटक अल्लाहतालाले सपना देखाउनु भयो । पैगम्बर इब्राहिमले गर्नुभएको सबै कुर्बानी अस्विकार भयो । त्यसपछि अल्लाहले तिमीलाई सबै भन्दा बेसी कसको माया लाग्छ भनेर प्रश्न गर्नुभयो । पैगम्बर इब्राहिमले जवाफ दिए, ‘तपाईको’ । फेरी प्रश्न गर्नु भयो, ‘म पछि कसको माया बेसी लाग्छ ?’ इब्राहिमले जवाफ दिए, ‘छोराको ।‘ त्यसपछि अल्लाहले सोध्नुभयो, ‘त्यसो भए तिम्रो छोराको कुर्बानी चाहियो मलाई । के मेरो निम्ती छोरोको कुर्बानी दिन सक्छौ ?’ इब्राहिमले हुन्छ भने । पैगम्बर इब्राहिम र उहाँको पत्नी हजराको एक मात्र छोरा थिए, ईस्माइल अलै सलाम । त्यति बेला उहाँको छोराको उमेर करिब ७÷८ वर्ष मात्र थियो ।

भोली बिहान उठेर इब्राहिमले आफ्नो श्रिमती र छोरालाई सबै कुरा सुनाए । उनको श्रिमती हजराले पनि अल्लाहको आदेश छ भने टार्न नहुने बताइन् । मुटुमा ढुङ्गा राखी उनको श्रिमतीले खुसीका साथ छोराको कुर्बानी गर्न भनिन् । दुखी भएर छोरा नजिक गई छोरालाई सबै कुरा सुनाए । छोराले पनि नडराई खुसीसाथ बुवालाई अल्लाहको संदेश हो, त्यसैले दुखी नभई अल्लाहको संदेशको पालना गर्नुस र मेरो चिन्ता नगरी मेरो कुर्बानी दिनुस भने ।

छोराले भने, ‘कुर्बानी गर्ने बखत तपाईलाई म प्रति धेरै माया लाग्न सक्ला । त्यस कारण म तपाईको आँखामा कालो पट्टि बाँधिदिन्छु । त्यसपछि इब्राहिमले कुर्बानीको लागि तयारी गरे । अल्लाहले छोराको कुर्बानी गर्न भनेर केवल इब्राहिमलाई जाँच्न मात्र खोज्नु भएको थियो । त्यसैले, अल्लाहले हलाल गरिने चाकुलाई पहिलै आदेश दिइसक्नु भएको थियो । कुर्बानी गरिने बेला चाकुको धार पैगम्बरको छोराको घाटीमा नपरोस भनेर । पैगम्बर कुर्बानीको सबै तयारी पुरा गरी आफ्नै छोराको हलाल गर्न गए । तर हलाल गर्न खोज्दा धारिलो चाकु उनको छोराको घाँटीमा नपरी जन्नतबाट(स्वर्ग) अल्लाहले पठाउनु भएको धुम्बा(खसी जस्तै एक प्रकारको जनावर), धुम्बाको घाँटीमा पर्न गयो ।

त्यसै दिन देखि संसार भरीका मुस्लिम समुदायलाई कुर्बानी गर्न अनिवार्य बनाईयो । हरेक मुस्लिम समुदायले जीवनमा सकेसम्म एक पल्ट हज गर्नैपर्ने भएकोले कुर्बानी गरिने महिनामा केही दिन अगाडी मात्र मुस्लिमहरु हजका लागि आ–आफ्नो देशबाट साउदी अरबको मक्का मदिना प्रस्थान गर्नेगरेका हुन्छन् । हज कुर्बानीको ठिक एक दिन अगाडी नै गर्ने गरिन्छ । मुस्लिमहरुको पाँचवटा स्तम्भ मध्ये हज एउटा हो ।

यो पर्व तीन दिनसम्म मुस्लिम समुदायले बिहान उठी नुहाई धुवाई गरि आ–आफ्नो क्षमता अनुसारको नँया नँया लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने गदर्छन । अनि घर फर्केर, आफू बसेको देशमा के को कुर्बानी गर्न वा दिन सकिन्छ, त्यहि हिसाबको कुर्बानी गरी खुसीका साथ मनाउँछन् । साथै सबै रिसराग बिर्सेर आफ्ने नातेदारहरुसँग खुसी आदन प्रदान गर्दछन् । कुर्बानी गरिएको मासुलाई अनिवार्य रुपले बराबरी तीन भाग लगाईन्छ । एक भाग आफूलाई, दोश्रो भाग आफ्नो सबै नातेदारहरुलाई र तेश्रो भाग गरिबलाई बाँट्नै पर्ने हुन्छ । अन्त्यमा तीन दिनसम्म सबै मिली जुली नातेदारको घर घर गई मासुका साथ अरु मिठा मिठा परिकार खाई कुर्बानी÷बकरीद मनाउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.