
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय निकायको निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंस्थित राजपाको कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।
आन्दोलनका कार्यक्रमहरु असार १३ गतेदेखि १९ गतेसम्मका लागि घोषणा गरिएको छ । मसाल जुलुसबाट सुरु हुने आन्दोलन आम हड्तालसम्म पुग्नेछ ।
आन्दोलनका कार्यक्रम यसप्रकार छ ।
ज्येष्ठ १३ गते- जिल्लाका सबै उ.म.नगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन
ज्येष्ठ १४ गते- जिल्ला सदरमुकाम, नगरपालिका र गाउपालिकामा लाठी जुलुस प्रदर्शन
ज्येष्ठ १५ गते- विभिन्न संघ-संस्थाका प्रतिनिधि, उद्योगी-व्यापारी, बुद्धिजीवी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदूर आदिको वृहत अन्तरक्रिया कार्यक्रम तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बालि श्रद्धान्जलि दिने
ज्येष्ठ १६ गते- जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाऊंपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराव
ज्येष्ठ १७ गते- सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबाजारमा मसाल जुलुस प्रदर्शन
ज्येष्ठ १८ र १९ गते- मधेश-थरुहट-लिम्बुवान बन्द, आमहड़ताल/उमेदवारी प्रक्रीयालाई सक्रियताका साथ अवरोध गर्ने।



