
हुलाकी न्यूज, काठमाडौं । मधेशको माग पूरा गर्ने तीन बुँदे सहमतिबाट बनेको प्रचण्ड नेतृत्वको सरकारले मधेशको माग पूरा गर्नसकेन ।
मधेश आन्दोलनको मुख्य माग संविधाने संशोधन, प्रदेशको सीमांकन र जनसंख्याको आधारमा स्थानीय निकायको पुनर्संरचनामध्ये कुनै पनि माग पूरा भएन ।
संविधान संशोधनका लागि प्रचण्डले तीन पटक प्रयास गरेपनि संविधान संशोधन गराउन सकेन । प्रचण्डले मधेशी मोर्चाको मागबमोजिम जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना गर्न सकेन ।
पछिल्लोपटक २२ वटा स्थानीय निकाय थपिएपनि नेपाली कांग्रेसको मागबमोजिम ती निकायहरु थपिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले मुद्दा फिर्ता लिने अपूरो निर्णय गरेको छ । उक्त निर्णयका आधारमा मधेश तथा थरुहट आन्दोलनका कैदीबन्दीहरु रिहा हुने सम्भावना न्यून रहेको छ ।
नेपाली कांग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
देशवासीको नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । उनले आफूले कांग्रेससँग गरेको सहमतिअनुसार नै राजीनामा दिएको बताएका हुन् ।
नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उनले बताए ।



