
हुलाकी न्यूज, रघुनाथपुर (धनुषा) । धनुषा जिल्लाको पूर्वी भेगमा रहेको रघुनाथपुर गाविसका जनताहरुले नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेसहितका नेताहरुको घरमा आक्रमण गरेका छन् ।
रघुनाथपुर गाउँपालिकाको माग गर्दै विगत तीन महिनादेखि आन्दोलन गर्दै आएका रघुनाथपुरवासीहरुले सोमबार ति पार्टीका नेताहरुको घरमा आक्रमण गरेका हुन् ।
स्थानीय निकायको संख्या थप्न आइतबार राती स्थानीय विकास मन्त्रालयमा बसेको धनुषाका सांसदहरुको बैठकमा नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए ।
१४ हजार जनसंख्या रहेको रघुनाथपुरलाई दुई टुक्रामा विभाजन गरिएको र आफुभन्दा निकै कम जनसंख्या रहेको गाउँमा मिसाएर नगरपालिका बनाएको भन्दै रघुनाथपुरबासीले विरोध गर्दै आएका छन् ।
आइतबार रातीको बैठकमा त्यस क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका सांसद प्रेम किशोर साहले कुनै पनि हालतमा रघुनाथपुर गाउँपालिका हुन नदिने अडान राखे । त्यस्तै, नेपाली काँग्रेसकै सांसदहरु आनन्द प्रसाद ढुँगाना, मिनाक्षी झा, रामकृष्ण यादव, महेन्द्र यादव, डा.चन्द्र मोहन यादवलगायतले रघुनाथपुर गाउँपालिकाको विरोध गरे । माओवादीका साँसदहरु मोक्ता यादव र रामसिंह यादवले पनि कुनै पनि हालतमा रघुनाथपुर गाउँपालिका हुन नदिने अडान राखेका थिए ।
काँग्रेस र माओवादीसहित धनुषाका सांसदहरुले धनुषामा एउटा मात्र गाउँपालिका थप्नु पर्ने भन्दै काँग्रेस कै सांसदहरुको दबाबमा तीन नम्बर क्षेत्रमा गाउपालिका थप्ने प्रतिवदेन बुझाएका छन् ।
साँस्कृतिक एवं धार्मिक महत्व बोकेको रघुनाथपुर गाउँपालिका हुने सम्भावाना कम देखेपछि सोमबार विहानैदेखि रघुनाथपुर र आसपासका क्षेत्र बन्द रहेको छ । स्थानीयबासीहरुले प्रदर्शन गरिरहेको स्थानीय युवा अगुवा शंकर पासवानले हुलाकी न्यूजलाई बताए ।
बाटोहरुमा खाल्डो खनी अवरुद्ध गरिएको छ भने चौक चौकमा टायरबाली प्रदर्शन गरिदैछ ।
यता नेपाली काँग्रेस र माओवादीका स्थानीय नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिदैछन् । काँग्रेस नेता जगत सुन्दर साहले आफुहरु विगत तीन महिनादेखि आन्दोलन गरिरहँदा र पार्टीका नेताहरुलाई घचघच्याउँदासमेत सुनवाई नभएको भन्दै राजिनामा दिन लागेको बताएका छन् । साहले अन्य पार्टीका नेताहरुले पनि राजिनाका लागि छलफल गरी रहेको बताए ।



