हुलाकी न्यूज, काठमाडौं । दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रमुख सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकबाट सहमति हुने सम्भावना रहेको भन्दै मधेशी नेताहरु खुशी हुँदै सहभागी भएका थिए । तर बैठकमा नेकपा एमालेका नेताहरु आक्रमक रुपमा प्रस्तुत भएपछि राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर आक्रोस पोख्दै बाहिरिए ।
शुक्रबार साँझको बैठकमा नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदारले पनि मधेशको समस्या समाधान नभए निर्वाचन हुन नसक्ने चेतावनी एमालेलाई दिए ।

संविधान संशोधन र स्थानीय निकायको संख्या बृद्धि गरी दोस्रो चरणको निर्वाचनमा सहभागी हुनु पर्ने प्रस्ताव प्रधानमन्त्रीले राखे लगतै एमालेले अस्वीकार गरेको थियो । एमाले नेता भीम रावल र सुवास चन्द्र नेम्वाङ आक्रमक रुपमा प्रस्तुत हुँदै संविधान संशोधन र स्थानीय निकायको संख्या बढ्न नदिने चेतावनी दिए ।

मधेश थरुहट आन्दोलनको मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाइएकोमा एमाले नेताहरु आक्रमक भइ प्रस्तुत भएका थिए । प्रधानमन्त्री प्रचण्डले एमाले नेताहरुलाई थामथुम पार्दै सबै मुद्दाहरु फिर्ता नहुने पनि बताए ।

उनीहरुको कुरा सुने पछि राजपा नेता महन्थ ठाकुरले बैठकमा भने,‘तपाईहरु बिच सहमति भई सकेको छ जस्तो हामीलाई लागेको थियो । तर तपाईहरु आफैमा झगडा गर्दै हुनुहुन्छ । मधेशको माग पुरा हुने सम्भावना मलाई लागेन ।
प्रधानमन्त्रीले जुन प्रयास गर्नु भयो त्यसको लागि धन्यवाद । तर अव हामीसँग आन्दोलनको विकल्प छैन ।’ बैठकमा नेता ठाकुरको प्रस्तुती बारे बताउँदै राजपा नेता अनिल झाले हुलाकी न्यूजलाई भने,‘राजपाको तर्फबाट ठाकुर जीले मधेशको माग पुरा नभए आन्दोलनको विकल्प नरहेको चेतावनी दिनु भयो ।’

बैठकमा अन्य मधेशी नेताहरुले बोल्न पाएनन् । काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर अगाडि बढ्नु पर्ने बताउँदै एमालेलाई गम्भीर हुन आग्रह गरे ।

बैठकमा विजय गच्छदार पनि गम्भीर रुपमा प्रस्तुत भएको बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका नेता डा.शिवजी यादवले बताए । गच्छदारलाई उधृत गर्दै यादवले भने,‘मधेशको समस्या समाधान नगरी निर्वाचन असम्भव छ । म समस्या समाधान गर्न सरकारमा आएको हो । त्यसैले मैले समाधान तर्फ अगाडि बढ्नु पर्छ । होइन भने निर्वाचन सकैले गराउन सक्दैन ।’

बैठकमा एमाले आक्रमक रुपमा प्रस्तुत भएपछि विनानिष्कर्ष बैठक सक्यो । बैठकबाट आक्रोसित अनुहार लिएर नेता महन्थ ठाकुर र राजेन्द्र महतो बाहिरिए । उनीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

लगतै अनिल झा, महेन्द्र यादव र शरत्सिंह भण्डारी पनि बाहिरिए । राजपा नेता झाले हुलाकी न्यूजसँग भने,‘आजको बैठकमा एमालेले भिड्न्त गर्न खोजेको जस्तो देखियो । सहमति हुने सम्भावना झनै टाँढिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.