हुलाकी न्यूज, काठमाडौं । संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्न नागरिक अपील जारी गरिएको छ । करिब चार दर्जनभन्दा बढी विभिन्न क्षेत्रका अगुवाहरुले संयुक्त अपील जारी गर्दै संविधान संशोधन गरेर दोश्रो चरणको निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् । संविधान संशोधन नभए देश विखण्डनतिर जान सक्नेप्रति पनि सचेत गराइएको छ ।

नागरिक अपीलमा संविधानका अन्तवरस्तुमा असन्तुष्टि राख्दै आएका मधेशी, जनजाति, दलित, थारु, महिला, मुस्लिम लगायतको चासोलाई पनि संविधान संशोधन मार्फत सम्बोधन गर्ने सरकारको प्रतिबद्धताहरुलाई पुनः स्मरण गराइएको छ ।

संविधान निर्माण पश्चात देशको एउटा ठूलो हिस्साको जनसमुदायले यसमाथि अपनत्व ग्रहण गर्न नसकेको कुरा विगतमा सरकार र मधेशी मोर्चालगायत असन्तुष्ट समूहहरुबीच भएका सहमतिहरुले पुष्टि गरेको जनाइएको छ ।

अपीलमा भनिएको छ, ‘विगतमा नेपालका धेरै नागरिकले ज्यान गुमाउनुपरेको, अंगभंग र घाइते हुनुपरेको र सरकारी तथा निजी सम्पत्तिको समेत ठूलो क्षति व्यहोर्नुपरेको सत्य हाम्रो सामु छ । यस यथार्थलाई आत्मसाथ गरी संविधान संशोधनार्थ प्रस्तुत विधेयकलाई यथाशीघ्र पारित गरि संघीय गठबन्धन लगायत अन्य असन्तुष्ट पक्षहरुलाई विश्वासमा लिइ मार्गप्रशस्त गर्न जरुरी छ ।’

नागरिकको हैसियतले सबैको अपनत्व र सहभागीतासहित दोश्रो चरणको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सम्पूर्ण राजनितिक दलहरुका जिम्मेवार नेतृत्वसँग आग्रह गरिएको छ ।

संविधान संशोधन नभए देश एकताबद्ध रहन नसक्ने अर्थात विखण्डनतिर जान सक्ने प्रति सचेत गराउँदै अपीलमा भनिएको छ, ‘संविधान संशोधन नगरी अघि बढ्दा समाजको एउटा हिस्सा असन्तुष्ट रहने र त्यसले राष्ट्रलाई एकताबद्ध बनाउने कुरामा बाधा पु¥याउने देखिन्छ । राजनितिक र सामाजिक ध्रुवीकरणलाई वढावा दिने क्रियाकलापले नेपाललाई दुरगामी रुपमा डरलाग्दो अनिष्टतिर लैजाने सक्छ भन्नेमा हामी गम्भीर छौं ।’

यसअघि केही व्यक्तिहरु वक्तव्य जारी गर्दै दोस्रो निर्वाचनअघि संविधान संशोधन गर्न नहुने तर्क गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.