
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै नेपाली काँग्रेसलाई निर्वाचन सार्न आग्रह गरेको छ । संविधान संशोधन नभए निर्वाचन हुन नदिने अडान राख्दै राजपाका नेताहरुले संशोधनका लागि प्रयास गर्न काँग्रेससँग आग्रह गरेको हो ।
बुधबार राजपा र नेपाली काँग्रेसका नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा राजपाका नेताहरुले आफ्नो अडान दोहर्याउँदै निर्वाचनको वातावरण बनाउन काँग्रेससँग आग्रह गरेको छ । अहिलेकै अवस्थामा जेठ ३१ गते निर्वाचन हुन नसक्ने बताउँदै राजपाका नेताहरुले निर्वाचन सारेर भएपनि संविधान संशोधन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रियामा काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रयास गर्ने बताउँदै आश्वयक परे मात्र निर्वाचन सार्ने बताए । देउवाले संविधान संशोधन गराउने आश्वासन दिदै जेठको पहिलो साता कुर्न राजपालाई आग्रह गरे ।
बैठक पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपा अध्यक्ष मण्डलका नेता राजेद्र महतोले भने ‘संविधान संशोधन र मधेशको माग पुरा नभएसम्म हामी निर्वाचनमा जाँदैनौं भन्ने कुरा काँग्रेसलाई प्रष्ट पारेका छौं । निर्वाचन सारेर भएपनि संविधान संशोधन हुनु पर्छ । काँग्रेसका सभापति पनि सकारात्मक हुनुहुन्छ ।’
बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै काँग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचन सार्ने प्रस्ताव काँग्रेसले अस्वीकार गरेको बताउँदै संविधान संशोधनका लागि काँग्रेसले प्रयास गर्ने बताए । उनले राजपालाई दल दर्ता र चुनाव चिन्हका लागि निर्वाचन आयोगसँग छलफल गर्ने बताए ।



