हुलाकी न्यूज, काठमाडौं । सरकारले स्थानीय तहको संख्या थप गर्ने सम्बन्धमा अध्ययन गर्न स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा समिति गठन गरेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री गच्छदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजयशंकर नायक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई स्थानीय तहको संख्या वृद्धिसम्बन्धमा अध्ययन गरी पाँच दिनभित्र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ । यसअघि पनि समितिले प्रतिवेदन बुझाइसके पनि कार्यन्वयनमा विरोध भएपछि रोकिएको छ ।
अहिले गच्छदारले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहको संख्या बढाउने भएको बताएपनि दोस्रो चरणको निर्वाचन अघि संख्या बढ्ने सम्भावना न्यून रहेको छ ।
गच्छदारको संयोजकत्वमा बनेको समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने छ । यसअघि कमल थापाले बुझाएको प्रतिवेदन अनुसार स्थानीय तहको संख्या बढाउन लागिएपछि प्रमुख प्रतिपक्षी दलको विरोधका कारण सरकार पछाडि हटेको थियो । अहिले पनि स्थानीय तहको संख्या बढाउने विषयमा एमालेले विरोध गर्दै आएको छ ।



