हुलाकी न्यूज, काठमाडौं । संविधान संशोधनसहितको माग पुरा नभएको भन्दै आन्दोलन घोषणाको तयारी गरिरहेको संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने भएको छ । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नभई आन्दोलन गर्ने अडान राख्दै आएको छ ।
संघीय गठबन्धनसँग यसअघि भएको सहमति कार्यन्वयन नभएको तथा निर्वाचनको घोषणा पछि भएका भद्र सहमतिहरु पनि कार्यन्वयन नभएको भन्दै गठबन्धनका नेताहरुले आन्दोलनको विकल्प नरहेको बताउँदै आएका छन् ।
गठबन्धनका नेता कुमार लिंदेनले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार आन्दोलनको घोषणाअघि गठबन्धनले अन्तिम चेतावनी दिन प्रधानमन्त्रीलाई भेट्नेछ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरी निष्कासन गरेपछि आइतबारबाट काठमाडौंमा सुरु गठबन्धनको बैठक मंगलबार पनि जारी रहने जनाइएको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षता गठबन्धनको बैठक जारी रहेको छ ।




Try your best..