
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई ओझेलमा पार्न महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन् ।
रिपोर्टर्स कलब नेपालले बुधबार आयोजना गरेको एक कार्यक्रममा नेता कर्णले संविधान संशोधन प्रस्तावलाई अन्यौलमा पार्नको लागि वर्तमान सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिशमाथि नियतवश रुपमा महाअभियोग प्रस्ताव दर्ता गराएको आरोप लगाएका हुन् ।
उनले भने,‘सरकारले बैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यही दिन राप्रपाका सांसदहरुको उपस्थिति नै भएन, र विधेयक अघि बढ्न सकेन, यो सरकारको नियतमा नै खोट छ, त्यसपछि प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव आयो, गृहमन्त्रीले राजिनामा दिए, यो सबै राजनीतिक भुईचालो आउनुको कारण भनेको नै संशोधन प्रस्ताव पारित गराउन नचाहनु हो, ओझेलमा पार्नु हो ।’
महाअभियोग प्रस्ताव ल्याएर व्यवस्थापिका संसदले न्यायपालिकामािथ ठाडो आक्रमण गरेको तर्क गर्दै उनले भने, ‘यो भनेको लोकतन्त्रमाथिको प्रहार हो ।’
संविधान संशोधन नभई आफूहरु चुनावमा भाग नलिने चेतावनी दिँदै उनले वर्तमान सरकारलाई आफूहरुको कुनै समर्थन नरहेको समेत स्पष्ट पारे ।



