
हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ दलले एकीकरण गरी बनाएको राष्ट्रिय जनता पार्टीको नाममा नेपाल थपिएको छ । अव पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) हुनेछ ।
राष्ट्रिय जनता पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएकोले नाम परिवर्तन गरी राष्ट्रिय जनता पार्टी, नेपाल राखिएको राजपाका नेता राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताउनु भयो ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलको बैठकले पार्टीको नामको पछाडि नेपाल जोड्ने निर्णय गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको हो । नाम परिर्वतन र पार्टीको चुनाव चिन्हका बारे बुधबार नै निर्वाचन आयोगलाई जानकारी गराइएको छ ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झाका अनुसार पार्टीको नामको पछाडि नेपाल जोडिएको छ । उनले बुधबार नै निर्वाचन आयोगलाई जानकारी गराएको बताए ।
झाका अनुसार पार्टी दर्ताका लागि निर्वाचन आयोगले हस्ताक्षर बुझाउन तीन दिनको समय दिएको थियो । उक्त समय भित्र राजपाले हस्ताक्षर बुझाउन सकेको छैन ।
राजपाका अनुसार संविधान संशोधन भए मात्र निर्वाचन आयोगमा हस्ताक्षर बुझाएर निर्वाचन सम्बन्धी गतिविधिमा सहभागी हुनेछ ।
राजपाका अनुसार दोस्रो चरणको चुनावका लागि सम्पूर्ण प्रक्रिया पुनः सुचारु गर्नु निर्वाचन आयोगसँग माग गरेको छ । सत्तापक्षले संविधान संशोधनसहितको माग पुरा गरेको खण्डमा राजपा नेपाल निर्वाचनमा सहभागी हुनेछ ।



