
हुलाकी न्यूज, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई रुपन्देही जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ । सिरहा जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि डा.राउतलाई रुपन्देही लगिएको थियो । रुपन्देहीबाट साधारण तारेखमा रिहा भएका डा.राउतलाई रौतहट प्रहरीको जिम्मा लगाइएको छ ।
मंगलबार राती डा.राउतलाई रुपन्देहीबाट रौतहट ल्याइने प्रहरीले हुलाकी न्यूजलाई बताएका छन् ।
मंगलबार जिल्ला अदालत रुपन्देहीमा बहस पछि डा.राउतलाई साधारण तारेखमा छोडिएको हो । उनीसँगै सोही मुद्दामा पक्राउ परेका रामकेश गुप्तालाई २५ हजार र पाँच जनालाई १०÷१० हजार धरौटीमा रिहा गरिएको छ ।
डा.राउतसँगै इरफान शेख, परमेश्वर यादवलाई पनि साधारण तारेखमा छाडिएको हो ।
माघ सात गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लाहानमा कार्यक्रम गरेको आरोपमा जनकपुरबाट २० गते प्रहरीले डा.राउतलाई पक्राउ गरेको थियो । सिरहा प्रहरीलाई बुझाइएपछि ६० दिनसम्मको हिरासतपछि धरौटीमा छुटेका राउतलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको थियो ।
रुपन्देही प्रहरी हिरासतभित्रै डा.राउतको हत्याको प्रयास भएको स्वतन्त्र मधेश गठबन्धनले आरोप लगाएको थियो ।
मंगलबार जिल्ला अदालत रुपन्देहीले डा.राउतलाई साधारण तारेखमा रिहा गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको छ ।



