हुलाकी न्यूज, वीरगंज, ७ असोज । मधेशी मोर्चाले बिहिबार बिहानै देखि वीरगंजस्थित नाका ठप्प पारेको छ । राजमार्ग र सीमानाका बन्द गर्ने रणनीति अनुरुप बिहानैदेखि मधेशी मोर्चाका नेता कार्यकर्ताहरु वीरगंजको नाकामा धर्ना दिएर बसेका छन् ।

उनीहरु वीरगंज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा धर्ना दिएर नाकाबन्द गरेका हुन् ।

नाकामा धर्ना दिनेहरुमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा पनि रहेका छन् । उनी पनि बिहिबार बिहानैदेखि नाकामा धर्ना दिएर बसेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशि कपुर मियालगायतका पनि बिहानैदेखि नाका बन्द गर्दै धर्नामा बसेका हुन् ।

राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले वीरगंज नाका ठप्प पार्ने जिम्मेवारी सदभावना पार्टीलाई दिएको थियो ।

मधेशी मोर्चाको धर्नाका कारण वीरगंज नाका पुरै ठप्प भएको छ भने त्यँहाबाट कुनै पनि सवारी साधन ओहोर दोहोर गर्न सकेको छैन ।

नाकामा आन्दोलनकारीले धर्ना दिएका कारण मालवाहक गाडी पठाउन नसक्ने भन्दै भारतीय पक्षले पनि बिहानैदेखि सम्पूर्ण काम रोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.