हुलाकी न्यूज, काठमाडौं । स्व.गजेन्द्रनारायण सिंहद्धारा स्थापित नेपाल सद्भावना पार्टीको झण्डा मुनी सम्पूर्ण मधेशवादी दललाई एकीकृत हुन आह्वान गर्दै नेपाल सद्भावना पार्टी(नेसपा)को महासमिति बैठक सम्पन्न भएको छ ।
पार्टीको २८ औं स्थापना दिवस एवं गजेन्द्र जयन्तीको अवसरमा बैशाख तीन गतेबाट काठमाडौंमा सुरु भएको महासमिति बैठक मंगलबारसम्म भएको छ । महासमिति बैठकले मधेशको मागलाई सम्बोधन गराउन आन्दोलन जारी राख्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
नेसपाद्धारा जारी गरिएको विज्ञप्तिअनुसार संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी हुने छैन । हाल पुर्नसंरचना गरिएको गाउँपालिका, नगरपालिकालगायतका स्थानीय तहलाई खारेज गरी जनसंख्याको आधारमा गठन गर्न नेसपाले माग गरेको छ । साथै स्थानीय तह प्रदेश अन्तरगत हुने भएकोले स्थानीय तहको निर्वाचन प्रदेश अन्तरगत हुनु पर्ने धारणा पनि नेसपाले राखेको छ ।
महासमिति बैठकमा देशभरीबाट करिब ४५० जना महासमिति सदस्यहरु सहभागी भएका थिए ।



