हुलाकी न्यूज, महोत्तरी । नयाँ वर्षको आगमनसँगै धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमुना मुसहरवस्ती शुक्रबार आयोजित एक भव्य समारोहकाबीच हस्तान्तरण गरिएको छ ।
हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहरवस्तीका अध्यक्ष विल्टु सदालाई एकीकृत मुसहरबस्ती हस्तान्तरण गरेका हुन् ।
वस्तीमा निर्माण गरिएको ५३ घरपरिवार हस्तान्तरण पश्चात मुसहर समुदायहरुले खुशीयाली व्यक्त गरेका छन् ।
साथै, वस्तीमै निर्माण गरिएको भ्युटाबर नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी र सामाजिक अभियन्ता रामअशिष यादवले संयुक्त रुपमा हस्तान्तरण गरे भने मुसहरहरुका कुलदेवता दीनाभद्रीको मन्दिर र वालउद्यान सुन्तली र धुर्मुसका आमावुवाले हस्तान्तरण गरेका थिए ।
धुर्मुस सुन्तली फाउण्डेशनले ९५ दिन लगाएर सो वस्तीको निर्माण गरेका हो ।
वस्ती भित्र ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, दिनाभद्रीको मन्दिर, भ्यूटावर, प्रतिक्षालय, प्रवेशद्धार, पक्की सडक, नालालगायतको संरचना निर्माण गरिएको छ ।
मुसहरवस्तीमा थप आम्दानीको लागि बर्दिबास, ढल्केवरसहितको सुन्दर दृष्य देखिने गरी ३५ फिट अग्लो भ्यूटावर समेत निर्माण गरिएको छ ।
सो वस्ती निर्माणको लागि ६ करोड ३६ लाख ३९ हजार रुपैया सहयोग भएकोमा वस्तीको पुरै संरचना निर्माण गर्न ५ करोड ४ लाख ३६ हजार खर्च भएको फाउण्डेशनले जनाएको छ ।



