
हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमांकन बिनाको संविधान संशोधन प्रस्तावको विरोध गरेको छ ।
सीमांकन मधेशी मोर्चाको प्रमुख माग रहेको भन्दै मंगलबारको संसद बैठकमा नयाँ संशोधन प्रस्तावको विरोध संसद बहिष्कार गरी मोर्चाका सांसदहरु बाहिरिएका थिए ।
मोर्चाका एक जना सांसदले सीमांकन बिनाको कुनै पनि संशोधन विधेयक आफूहरुलाई मान्य हुनै नसक्ने ठोकुवा गरेका छन् । उनका अनुसार सीमांकनलाई छोडेर मोर्चा कुनै निर्वाचनमा समेत भाग लिँदैन ।
सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिई संशोधनको नयाँ प्रस्ताव बिना सीमांकन ल्याउन लागेको हो ।
के छ नयाँ प्रस्तावमा ?
नयाँ प्रस्तावमा सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ । त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव गरेको छ । भाषा र नागरिकतामा भने पुरानै व्यवस्था कायम गरिएको छ ।
संसदको मंगलबारको बैठक वैशाख ७ गते बस्ने गरी सकिएको थियो ।



