
हुलाकी न्यूज, काठमाडौं । सप्तरीको राजविराजमा सुरक्षाकर्मीको गोली लागी मारिएका ५ जनाको घटनामा सरकार नै दोषी रहेको संसदीय समितिअन्तर्गतको छानबिन गर्न गठित उपसमितिले जनाएको छ ।
समितिले आइतबार प्रतिवेदन बुझाउँदै गोली चलाउनुपर्ने परिस्थिति नभई गोली चलेको र मृतकमध्ये कतिपयको छाती, टाउको र पेटमा गोली लागेको भन्दै समितिले सरकार नै दोषी ठहर गरेको हो ।
घटनास्थलमा गएर पीडितका आफन्तसँग गरेको छलफल र घटनाको अनुसन्धानबाट सरकारलाई दोषी देखाएको प्रतिवेदन आइतबार बुझाएको हो ।
गएको फागुन २३ गते मुख्य विपक्षी नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा राजविराजको आयोजित आमसभा बिथोल्न खोज्ने मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको थियो ।
सो घटनाको छानबिन गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले कांग्रेस सांसद मुख्तार अहमदको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो ।
सो समितिले स्थलगत अध्ययन गरी सरकारलाई दोषी ठहर गर्दै आइतबार मानवअधिकार समितिलाई प्रतिवेदन बुझाएको हो ।
जथाभावी गोली चलाउने सुरक्षाकर्मीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र अब यस्ता घटना हुन नदिनेतर्फ पनि उप समितिले सचेत गराएको छ ।



