
हुलाकी न्यूज, विराटनगर । स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यकर्ताको सुरक्षाकर्मी बाटै ज्यान लिने प्रयास भएको आरोप लगाएको छ ।
मोरङ जिल्लाको तेतरिया बाजारमा बुधवार आयोजित कार्यक्रमबाट फर्किने क्रममा बाटोमा रोकेर साँझ राजकुमार मुखियाको ज्यान लिने प्रयास भएको गठबन्धनले जनाएको छ ।
गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतको रिहाईको माग गर्दै आयोजित कार्यक्रमबाट घर फर्किने क्रममा तेतरिया बाजारभन्दा अगाडि पुलमा मुखियालाई मोटरसाईकल रोक्न लगाई मोटरसाइकलमा चढ़ेकै अवस्थामा कुटपिट भएको जनाइएको छ ।
‘नेपाल प्रहरीको टोलीले ज्यान लिने उद्देश्यले अन्दाधुन्द लाठी चार्ज गर्दा मुखियाको आखाँमा गम्भीर चोट लागेको छ । बटुवाहरूले राती कोशी अस्पतालमा भर्ना गरएको थियो । विहीबार बिहान आँखा अस्पतालमा चेकअप गर्दा डाक्टरले आखाँको शल्यक्रिया गर्नु पर्ने भएकोले बिराटनगर आँखा अस्पताल पठाएको छ’ गठबन्धनको विज्ञप्तिमा जनाइएको छ ।
मुखियाको को.४प ४४६६ नम्बरको मोटरसाइकल नेपाल प्रहरीले नियन्त्रणमा लिएको गठबन्धनले जनाएको छ । गठबन्धनले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।



