हुलाकी न्यूज, काठमाडौं । मधेश आन्दोलन ०६३/६४ लगतै संविधान सभाको पहिलो निर्वाचनअघि पनि मधेशी मोर्चाका दलहरुबीच एकीकरण गर्ने अथवा संयुक्त रुपमा चुनावमा उठ्ने विषयमा छलफल भयो । तत्कालिन मोर्चाका प्रमुख तीन घटक मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीबीच एकताको कुरा भएपनि त्यो सम्भव नदेखे पछि संयुक्त रुपमा उम्मेदबार खडा गर्नेसम्मको सहमति गर्ने भने पनि त्यो भएन ।

त्यसपछि दोस्रो संविधान सभाको निर्वाचनअघि मधेशी मोर्चाभित्रका दलहरुबीच पनि एकीकरणका लागि महिनौंसम्म बहस भयो । दलहरुबीच औपचारिक अनौपचारिक दर्जनौं पटक वार्ता भयो तर एकीकरण भएन । यहाँसम्म कि मधेशी मोर्चाका शिर्ष नेतृत्वबीच पनि तालमेल भएन । फलस्वरुप तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो एउटै निर्वाचन क्षेत्रबाट चुनावमा उठे पछि महतो पराजित भए । अन्य क्षेत्रमा पनि त्यस्तै भयो ।

मधेशी मोर्चाभित्रका नेता तथा कार्यकर्ताहरुले पार्टी फेरबदल गर्ने क्रम बढ्न थालेपछि मोर्चाका नेताहरुले एकताको चर्चा गर्न थाल्छन् ।

मधेशी मोर्चाभित्र जव जव भुक्षयीकरण र पहिरो जान थाल्छ, तव तव एकताको कुरा उठ्छ । अहिले मोर्चाका नेताहरुले एकताको ढोल बजाए पनि व्यक्तिगत जोरघटाउमा लागेका छन् ।

दोस्रो संविधान सभामा मधेशी मोर्चा आवद्ध दलहरुले पराजय भोग्नु परेपछि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले औपचारिक रुपमा काठमाडौंको एक पार्टी प्यालेसमा कार्यक्रम नै गरेर एकताका लागि दलहरुलाई आह्वान गरे । ठाकुरले आह्वान गरेको दुई वर्ष हुन लाग्दासमेत कुनै दलसँग एकता भएन ।

त्यस्तै, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि एकताका लागि बारम्बार छलफल चलाएपनि कुनै दलसँग एकता गर्न सकेको छैन ।

पछिल्लो पटक संसदबाट समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राखिएपछि पुनः मोर्चाका नेताहरुले एकताको चर्चा गर्न थालेका छन् । यस अवधिमा मोर्चाभित्रैकै पार्टीका नेताहरु आफ्नो भविष्य सुरक्षित गर्न अन्य पार्टीतिर जान लागेपछि एकताको कुरालाई जोरतोरका साथ उठाइएको छ ।

आखिर पछिल्लो एकताको कुरा के हो त ?

तराई मधेश लोकतान्त्रिक पार्टी केही नेताहरु सद्भावना पार्टीमा प्रवेश गर्ने हल्ला चलेपछि सद्भावना र तमलोपाबीच एकताको कुरा चलाइयो । सद्भावनाबाट सहअध्यक्ष लक्ष्मण लाल कर्ण र तमलोपाबाट बृषेश चन्द्रलालको नेतृत्वमा एकताका लागि कुराकानी अगाडि बढाइयो । तर एक पटक छलफल भए पनि दोस्रो पटक बैठकसमेत हुन सकेन ।

अशोक राई नेतृत्वको पार्टी संघीय समाजवादीसँग एकता गरेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि उपेन्द्र यादवले नयाँ शक्ति पार्टीसँग एकताको कुरा अगाडि सारे । उपेन्द्र यादवको पार्टीमा गैरमधेशी नेताहरुले पार्टी मधेशीहरुको हो भन्दै पार्टी परित्याग गर्न थालेका थिए । करिब एक दर्जन केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका थिए । त्यस्तै पार्टीमा गैरमधेशी हावी भएको भन्दै रिजवान अन्सारीसहितका मधेशी नेताहरुले पार्टी परित्याग गरेका थिए । त्यसपछि यादवले नयाँ शक्तिसँग एकता हुने र शक्तिशाली पार्टी बनाउने बताएपछि पार्टीभित्रको भुक्ष्यीकरण रोकिएको थियो ।

अहिले पनि नयाँ शक्तिसँग एकीकरणको छलफल भइरहेको छ । तर हालसम्म कुनै निष्कर्ष निस्केको छैन । नयाँ शक्तिका नेता रामचन्द्र झाले नयाँ बर्षको अवसरमा एकीकरणको घोषणा गर्ने बताए पनि फोरमका नेताहरुले त्यस्तो कुनै तयारी नभएको बताएका छन् ।

तेस्रो एकीकरणको कुरा, मधेशी मोर्चाभित्र महेन्द्र यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरणको हल्ला चल्यो । कारण थियो फोरम गणतान्त्रिकका अध्यक्ष र सांसद बाहेक सबै पदाधिकारीहरुले राजिनामा दिइसकेका छन् । अध्यक्ष यादवले राजविराजमा बैठक गरी पार्टी एकीकरण गर्न लागेको भन्दै नेताहरुलाई थम्हौटी गरेका छन् ।

शरत्सिंह भण्डारी नेतृत्वको रामसपामा पनि त्यस्तै अवस्था छ । सिरहा र सप्तरीमा पनि ठूलो संख्यामा पार्टीबाट कार्यकर्ताहरु बाहिरिन लागेको छ । महेन्द्र यादव नेतृत्वको तमसापाका केन्द्रीय नेतासहित केन्द्रीय सदस्यहरुलाई उपेन्द्र यादवले आफ्नो पार्टीमा तान्ने क्रम जारी राखेकोले पनि एकताको कुरा चलाइएको हो ।

यता मधेशी मोर्चाका नेताहरुले मधेशी मोर्चा एउटै झण्डा र चुनाव चिन्ह लिएर चुनावमा भाग लिने बताउन थालेका छन् । तर तमसपाका वरिष्ठ नेता रामनरेश राय यादव मोर्चामा आवद्ध दलका अध्यक्षहरुसँग गएर एकता गर्ने चर्चा गरेको बाहेक अरु कुनै छलफल हुन सकेको छैन ।

त्यसअघि मोर्चाको बैठकमा औपचारिक रुपमै एकताका विषयमा छलफल गर्ने मोर्चाको सचिवालयले तयारी गरेको थियो । तर त्यो प्रस्ताव मोर्चाको बैठकमा अहिलेसम्म पुग्न सकेको छैन ।

मधेशी मोर्चाभित्र जव जव भुक्षयीकरण र पहिरो जान थाल्छ, तव तव एकताको कुरा उठ्छ । अहिले मोर्चाका नेताहरुले एकताको ढोल बजाए पनि व्यक्तिगत जोरघटाउमा लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.