हुलाकी न्यूज, काठमाण्डौं, २२ चैत । भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयद्वारा ललितपुरमा आयोजना भएको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार सम्पन्न भएको छ । दुवै देश बीच जनस्तरमा रहेको सदियौँ पुरानो मैत्री सम्बन्धलाई गाढा बनाउँन पत्रकार र आमसञ्चारका महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्मेलन गरिएको हो । सम्मेलन काठमाण्डौ विश्वविद्यालय, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र मिडिया एक्सन नेपालको सहआयोजना रहेको थियो ।
सो सम्मेलन समापनमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक विके कुठियालले दुवै देश बिच रहेको उतार चढावलाई हटाउने उद्देश्यले दुवै देशका पत्रकारको एउटा साझा मञ्चका रुपमा नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घको स्थापना गर्ने घोषणा गरे । उनले भने, ‘संबन्धको आधार सुचना, संचार र संम्पर्क हो, तर यी तीनै पत्रकारितामा सुन्य रहेको छ । संचारको पूर्ण रुपले कमि छ । दुवै देश बिचको सत्यको दृष्टि नै फरक छन् । दुवै देशका संम्बन्ध सुधार्न जरुरी छ । काठमाण्डौ युनिभरसिटि र अन्य नेपालको सबै मिडियासंग सम्बन्धि संस्थाहरुसंग सहकार्य गर्ने तथा हुने अपेक्षा गर्छौ । र सहकार्यको लागि तालिम दिने ब्यवस्था पनि गरिने छ ।’
‘संम्बन्ध अघि बढाउँन भारत नेपाल मिडिया स्क्यान प्रकाशन प्रारम्भ गर्नेछौ । जस्ले गर्दा दुवै देशका पत्रकारहरु पनि एक अर्कालाई चिनुन । अझै सहज बनाउँन एउटा वेबसाइट बनाउँने छौ (www.nepalbharatsahayog.com) । यदि नेपालको कुनै विध्यार्थी हाम्रो विश्वविद्यालयमा मिडिया संम्बन्धि २७ वटा पाठ्यक्रमलाई लिई भारत पढ्न आउँछ भने उस्को लागि एउटा सिट र छात्रवृत्तिको पनि व्यवस्थ गर्नेछौ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार सल्लाहकार माधव शर्मा, भारतीय अखबार ‘तरुण भारत’का प्रमुख सम्पादक गजानन् नामदेव, नेपाली साप्ताहिक पत्रिका ‘घटना र विचार’का सम्पादक बबिता बस्नेत, मिडिया एक्सन नेपाल संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्त, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डा.सुधांशु दाहालले भारतीय र नेपाली सञ्चारमाध्यम दुई देशबीचको सम्बन्धका सन्दर्भमा सन्तुलित, जिम्मेवारीपूर्ण, वस्तुनिष्ठ र सत्यनिष्ठ हुन नसकेकोतर्फ ध्यानाकर्षण गर्दै दुवै देशका सञ्चारमाध्यमलाई त्यहाँका जनताप्रति जिम्मेवार हुन र नेपाल–भारतको जनस्तरको सम्बन्धलाई बढावा दिन आग्रह गर्नुभयो ।
सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दुई देशबीचमा राजनीतिक तथा जनताबीचको सम्बन्ध सुधारका लागि पत्रकारिताले चासो देखाउँनुपर्ने बताउँनुभयो । उनले भने, ‘संसारमा कुनै त्यस्तो देश हुँदैन, जहाँ राजनीतिको लगामबिना अर्थतन्त्रको घोडा दौडिएको होस्, त्यसैले राजनीतिक स्थिति सबल बनाउँन सञ्चार क्षेत्रले सहयोग गर्नुपर्छ ।’
त्यसैगरि व्यवस्थापिका–संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु साहले, ‘मिडिया भनेको स्वतन्त्र हो । र, मिडियाको स्वतन्त्र, स्वक्षताले दुवै देश बिचको संम्बन्ध बलियो हुनु पर्ने हो तर भैराको छैन् । बोडर देखि लिएर केन्द्र र हरेक सेक्टरसम्मको संम्बन्ध जरुरी छ । कहिलेकाही सानो देखि ठूलो घटणामा पनि स्वतन्त्र भइ मिडियाले काम गर्न सक्दैन् । मिडियाले प्राय एक पक्ष भइ काम गर्छ । जस्ले गर्दा अर्को पक्षलाई गाह्रो भएको महसुस पनि गर्दैन् । तर मिडियाको काम भने एक पक्षिय मात्र होइन् । अर्को पक्षको त्यतिकै ख्याल गरि सोचेर काम गर्नु पर्ने हुन्छ जुन मिडियाले गर्दैन् । जसलाई स्वतन्त्र भनिँदैन् ।’
वरिष्ठ पत्रकार एवम् त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख पी खरेल, माखनलाल चतुर्वेदी राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक अरुण भगत, काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. निर्मलमणि अधिकारी र भारतीय शिक्षणमण्डलका संयुक्त आयोजना सचिव मुकुल कनिटकारले नेपाल र भारतका सञ्चार तथा पत्रकारिता प्रतिष्ठानबीच पाठ्यक्रम विकास, अनुसन्धान, प्राध्यापक आदानप्रदान, शिक्षण अनुभव र शोध नतिजा आदानप्रदान तथा प्रविधि र ज्ञान अभिवृद्धिमा सहकार्य र सहयोगको खाँचो औँल्याउनुभयो ।



