
हुलाकी न्यूज, काठमाडौं । वि.स. २०५४ सालमा गैरसरकारी संस्थाको रुपमा मोरङ जिल्लामा दर्ता भएको मधेशी जनअधिकार फोरम पछि पार्टीमा परिणत भए । उक्त संस्थाकै नाममा मधेशमा विभिन्न गतिविधि भएपछि उपेन्द्र यादव, किशोर विश्वास, भाग्यनाथ प्रसाद गुप्ता, रामकुमार शर्मालगायतका व्यक्तिहरु नेताका रुपमा परिचित भए ।
पहिलो मधेश आन्दोलनबाट मधेशी नेताको रुपमा अगाडि आएका उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेशी’ शब्द फाल्दै राष्ट्रिय पार्टी बनाएको दाबी गरेपछि विजय गच्छदारले पनि आफ्नो पार्टीको नामबाट ‘मधेशी’ शब्द फाल्दै राष्ट्रिय पार्टी बनाएको उद्घोष गरेका छन् ।
यादवले आफु पहिले आवद्ध रहेको नेकपा एमालेबाट बाहिरिएका पुर्व एमालेहरुलाई समेट्दै राष्ट्रिय पार्टी बनाएको दाबी गर्दैछन् भने गच्छदारले पनि आफु पहिले आवद्ध रहेको नेपाली काँग्रेसबाट बाहिरिएका नेताहरुलाई समावेश गरी राष्ट्रिय पार्टी बनाएको दाबी गर्दैछन् ।
पहिलो मधेश आन्दोलन पछि भएको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालले ५२ सिट जितेको थियो । पाँच वर्षको अवधिमा फोरम नेपाल तीन टुक्रा भयो । विजय गच्छदारको नेतृत्वमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन भयो भने जेपी गुप्ताको नेतृत्वमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) गठन भयो ।
दोस्रो संविधान सभाको निर्वाचन पछि एमाले पाटीबाट बाहिरिएका आदिवासी जनजाति नेताहरुको बर्चस्व रहेको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर उपेन्द्र यादवले पार्टीबाट ‘मधेशी’ शब्द फालेर संघीय समाजवादी फोरम नेपाल बनाए । यादवले आदिवासी जनजातिहरुसँग सहकार्य गरेर राष्ट्रिय पार्टीको स्वरुप दिन खोजेको दाबी गरे ।
सोही लाइनलाई पछ्याउँदै विजय गच्छदारले पनि आफ्नो पार्टीलाई राष्ट्रिय स्वरुपको बनाउन ‘मधेशी’ शब्द फाल्दैछन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीका सहसंयोजक महेश कर्मोचासहित दर्जनौ केन्द्रीय नेताहरु गच्छदार नेतृत्वको पार्टीमा प्रवेश गरेपछि पार्टीको नाम परिर्वतन हुने भएको छ ।
आइतबार पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष गच्छदारले पार्टीको नयाँ नाम उद्घोष गरे । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट नाम परिर्वतन गरी नेपाल लोकतान्त्रिक फोरम राखिएको छ । तर औपचारिक रुपमा नाम परिवर्तन गर्न केही समय लाग्नेछ ।
फाइल तस्बिर



