हुलाकी न्यूज, जनकपुरधाम । धनुषा जिल्लाको क्षेत्र नम्बर चारको क्षेत्रीय बजेट फ्रिज हुने अवस्थामा पुगेपछि जनकपुर उद्योग बाणिज्य संघले बजेट फ्रिज हुन नदिन माग गर्दै रिले अनसन थालेको छ ।

संघका कोषाध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा शुक्रबारबाट जनकपुरधाममा रिले अनसन सुरु भएको हो । ‘बजेट फ्रिज गर्न पाइदैन, विकासको काममा बाधा हाल्न दिदैनौं’ जस्ता नारासहित थालिएको अनसनले २०७३/०७४ को निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको बजेट मंसिर १३ गते भएको निर्णयअनुसारका योजनाहरु कार्यन्वयन गर्न माग गरिएको छ ।

३ करोडको उक्त बजेटबाट जनकपुर उद्याग बाणिज्य संघको भवन पुर्ननिर्माणका लागि ६५ लाख रुपैयाँ छुट्याइएको छ ।
संघका कोषाध्यक्ष महासेठले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘कुनै पनि हालतमा हामी बजेट फ्रिज हुन दिदैनौं ।
यसअघि ७२ घण्टे अल्टिमेटम दिएका थियौं तर त्यसको सुनवाई भएन । हामी सोमबारसम्म रिले अनसन बस्छौं । हाम्रो माग सम्बोधन भएन भने सोमबारदेखि आमरण अनसनमा बस्छौं ।’

महासेठले सांसदहरुको मतभेदका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको बताउँदै प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी पनि बजेट फ्रिज गराउने पक्षमा लागेको आरोप लगाए । महासेठसँगै संघका सदस्यहरु संतोष कुमार साह, रामसुरत साह र प्रकाश कुमार साह अनसनमा बसेका छन् ।

धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साह निलम्बनमा परेपछि उक्त बजेट संचालनमा विवाद आएको हो ।

बजेट कार्यन्वयन निर्देशिका अनुसार निर्वाचित सांसद नभएको खण्डमा उक्त पार्टीको समानुपातिक सांसदको अध्यक्षतामा उक्त बजेटको कार्यन्वयन हुने व्यवस्था रहेको छ । सोहीअनुसार स्थानीय विकास मन्त्रालयले पनि सदभावना पार्टीकी समानुपातिक सांसद माधवी रानी साहलाई उक्त बजेट संचालनको जिम्मेबारी दिएको छ । तर साहले उक्त जिम्मेबारी पाउनुअघि नै अन्य पार्टीका सांसदहरुले योजना बाँडफाँड गरेपछि विवाद बढ्दै गएको हो ।

यता धनुषा क्षेत्र नम्बर ६ को बजेट पनि फ्रि हुने अवस्थामा पुगेको बुझिएको छ । नेपाली काँग्रेसका निर्वाचित सांसद प्रेम किशोर साह र माओवादी केन्द्रका समानुपातिक सांसद रामसिंह यादवबीच बजेटको विषयमा विवाद चल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.