रमेश ठाकुर, रौतहट, ६ असोज । लामो समयदेखि तराई/मधेशमा जारी रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आमहड्तालका कारण रौतहटको जनजिवन कष्टकर बनेको छ । विगत ४० दिनदेखि जारी बन्दका कारण बजार तथा पसलहरु खुल्न सकेका छैनन् । बन्द लम्बिँदै जाँदा रौतहटका मुख्य बजार तथा चौकहरु पूर्ण रुपले ठप्प भएका छन् ।

नागरिकता, सिमांकनसहितका विगतमा सरकारसँग भएका समझौताहरु कार्यान्वयनको मांग राखी विगत ४० दिनदेखि मधेशमा मधेशी मोर्चाले बन्द र आन्दोलनलाई निरन्तरता दिएको छ । बन्दका कारण अहिले रौतहटका सर्वसाधारणहरु मारमा परेका छन् । मधेशीको हक र अधिकार प्राप्तिका लागी भन्दै साउन ३० गते देखि नै आह्वान गरिएको बन्दले गरिब तथा दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरु नराम्ररी प्रभावित भएका छन् ।

एक छाक टार्नका लागि दैनिक मजदुरी गर्ने ठेला र रिक्सावालाहरु सबैभन्दा धेरै प्रभावित भएका छन् । लामो समयदेखि जारी बन्दका कारण बजार तथा पसलहरु खुल्न नसक्दा व्यापारव्यवसाय पनि चौपट भएको छ ।

rautahat-band3

बजार, यातायात, पसल, बैंक, सरकारी कार्यालय लगायत शिक्षण संस्थाहरु पनि एक महिना देखि बन्द छन् । बजार र यातायात बन्द हुँदा सर्वसाधारणलाई एक ठाउँबाट अर्काे ठाउँ पुग्न निकै कठिनाई भएको छ । बन्दको बेला शिक्षण संस्था बन्द नगर्ने नेताहरुले भने पनि त्यो व्यवहारमा उतार्न नसक्दा लामो समयदेखि रौतहटका निजी तथा सरकारी विद्यालय बन्द भएका छन् । जसकारण विद्यालय जाने बालबालिकाकोे पठनपाठन चौपट भएको छ ।

मध्य तराईमा जारी बन्दको प्रभाव हरेक क्षेत्रमा परेको छ । सरकारी कार्यालय तथा उद्योगहरु विगत एक महिनादेखि बन्द रहेका कारण सरकारलाई करोडौंको राजश्व घाटा व्यहोर्नु परेको छ । रौतहटका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द हुँदा सरकारी राजश्व समेत प्रभावित भएको छ ।

लामो समयदेखिको बन्दले बजारमा पेट्रोलियम पदार्थदेखि खाना पकाउने ग्यासको पनि अभाव भएको छ । त्यस्तै सीमावर्ती क्षेत्रमा लामो समय देखि जारी रहेको बन्दको असर सीमापारी भारतीय बजारहरुमा पनि परेको छ । बन्द, कर्फ्यू तथा निषेधित क्षेत्रका कारण यातायात नचलेपछि सामान किन्न सीमापारी भारतीय बजार जाने मानिसहरु नजाँदा व्यापार व्यवसायमा निकै कमि आएको भारतीय व्यापारीहरुले जनाएका छन् ।

rautahat-band2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.