हुलाकी न्यूज, गौर, ६ असोज । बुधबार दिउँसो गौरमा आन्दोलनकारीले जलाएर छाडेको संविधान निभाउन सशस्त्र प्रहरीका जवानहरु आए । जलिरहेको संविधानलाई बुटले किल्चिँदै सशस्त्र प्रहरीले निभाउने प्रयास गरे । प्रहरीले जलिरहेको संविधान निभाएको शैली देख्दा आन्दोलनकारी र सर्वसाधारण पनि छक्क परे । उनीहरुले एउटै प्रतिक्रिया दिए, ‘आफ्नो देशको संविधानको इज्जत प्रहरीले त गर्दैनन्, अरुले के गर्लान् ?’
लगातार ४० दिनदेखि तराई/मधेशमा जारी आन्दोलनले जनजिवन कष्टकर बनाईरहेकै बेला ठाउँठाउँबाट मोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा गत २८ गते रौतहटबाट मोर्चा आबद्ध ५ जना नेतालाई पक्राउ गरेको ९ दिन पछि प्रहरीले मंगलबार रिहा गर्यो ।
प्रहरी हिरासतबाट मुक्त भए लगत्तै मोर्चाका नेता अनिल सिंह, शेख जमसैद, अजय गुप्ता, रामेश्वर यादव र राम किशोर यादवले विशाल जनसमुदायलाई गौरमा सम्बोधन गरेका थिए । हिरासतबाट छुटेको ५ मिनेटभित्र दंगाग्रस्त क्षेत्रभित्र भेला भई सभालाई सम्बोधन गर्दा रौतहट प्रहरी मुखदर्शक बन्न बाध्य भएको थियो ।
हिरासतबाट छुटेको भोलिपल्ट अर्थात बुधबार तिनै पाँच नेताको अगुवाईमा गौरको धडकन चौकमा नेपालको नयाँ सँविधान प्रदर्शनकारीले जलाए । संविधान जलाउने क्रममा प्रर्दशनकारीले सरकार विरोधी नारा समेत लगाएका थिए ।
चर्को नाराबाजी पश्चात प्रहरीले संविधान जलाउँदै गरेको ठाँउमा हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपपछि प्रर्दशनकारी तितरबितर भए । सोहि क्रममा शसस्त्र प्रहरीका जवानहरुले बल्दै गरेको संविधान लाई बुटैबुटले प्रहार गरी निभाउने प्रयास गरेका थिए ।
सशस्त्र प्रहरीको रवैया हेरिरहेका एक प्रत्यक्षदर्शी स्थानीयले देशको संविधानको रक्षा र इज्जत गर्न नसक्ने प्रहरीले जनताको रक्षा के गर्ला भन्दै टिप्पणी गरे । उनले संविधान जारी हुँदाको बखत राष्ट्रपतिले आफ्नो शिरमा ढोगेको सम्झिँदै भने, ‘यिनीहरुभन्दा त संविधानको विरोधमा रहेका मधेशीले नै संविधानको इज्जत गर्छन ।’
आक्रोशित प्रहरीले समाचार संकलनका क्रममा रहेका पत्रकारमाथि पनि दुव्र्यवहार गरे । समाचार संकलन गरिरहेका हिमालय टाईम्सका रौतहट सम्वाददाता तथा बरिष्ठ पत्रकार प्रभात झालाई सशस्त्र प्रहरीले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।



