अर्कना खातुन, काठमाण्डौं, १३ चैत । सरिता शाहको निर्देशक तथा गोपाल अर्यालको निर्माणमा तयार पारिएको ‘लु’नाटक काठमाण्डौंको अनामनगर स्थित मण्डला थिएटरमा प्रदर्शन हुँदैछ । नयनराज पाण्डेको चर्चित उपन्यास ‘लु’ लाई साहले परिकाल्पनिक बनाई तान्डव थिएटर नेपालको प्रस्तुतीमा मंण्डलाको मंचमा प्रस्तुत गर्दैछिन् ।
‘लु’नाटकमा पश्चिमी नेपालको सीमावर्ती पत्थरपुरवा गाउँको कथा देखाइएको छ । सीमान्तकृत समुदायको तीतो यथार्थ, अशिक्षा, गरिबी तथा आफ्नै राज्यबाट अपहेलित हुनुपर्दाको पीडाहरुलाइ नाटकमा समेटिएको छ । तराई त यतिकै पनि विभिन्न प्राकृतिक प्रकोपले पिरोल्ने गरिएको छ । कहिले गर्मीको ‘लू’ले त कहिले शीत लहर र कहिले बाढीले पीडित बन्ने गरेका त्यहाँका बासिन्दा राज्यबाट पीडित छन् । त्यसमाथी सीमा पारीबाट पनि उतीकै पीडित भैरहेका छन् ।
निर्देशक शाह बताउँछिन्, सीमासंग जोडिएको तराई बासीका दुःख, पिडा र भोगाईलाई सबै माझ राख्ने प्रयास गरेकी छु । काठमाण्डौंका पट्टी बाधिएका आँखाहरुले तराईमा बसोबास गर्नेहरुका कष्टको छाँयाको कल्पना पनि गरेका हुँदैनन् । आफ्नै राज्यका हुँदाहुँदै पनि काठमाण्डौं बासीका नजरमा तराईबासीहरु मात्र भारतीय नै हो भन्ठान्छन् ।
उनी भन्छिन्, सीमा पारीबाट आइ हाम्रा चेली बेटीहरुलाई नराम्रो नजर लगाउँने, गरिबीको फाइदा उठाइ कतियौ मुन्नीहरु बेचबिखिनमा पर्ने गरेका छन् । नचाहिँदो राजनीतिको चलखेल, प्रेम, हिन्दु मुस्लिम लडाई गराउँने र सीमा मिच्ने जस्तो बिभिन्न पिडाहरु यस नाटकबाट स्पष्ट पार्ने एउटा प्रयास गरेकी हुँ । आशा गर्छु यो पिडा राज्यमा रहने सबैले बुझोस् । तराई पहाड एउटै हो भन्ने सन्देश दिन खोजेकी छु ।
नाटकका पात्रहरु इलैया/मिलन डि काप्री, नुसरत/आर्जु खरेल, चमेली/दिपिका ढकाल, रेडियोलाल/अनिल कुर्मी, टुटेपण्डित/बिवेक तिवारी, बजरंगी/शुलभ पाण्डे, महेश्वर/कुन्दन चौधरी, करिम/बिरेन्द्र मुखिया, गोबरी/राजकुमार पङ्गेनी शर्मा, मुनिया/सुजिता शाह, रजिया/सरस्वती अधिकारी, कविता/एना देउजा, अमरपाल/सन्देश शाक्य, मुन्नी/संमृदी चापागाँई छन् । नाटक फागुन २७ देखि चैत २० गतेसम्म मण्डला थिएटरको मंचमा प्रदर्शन हुनेछ ।



