अपडेट
मधेशी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन भन्सार र राजमार्गमा नाकाबन्दी कायम गर्ने निर्णय गरेको सदभावना अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । बैठकपछि अध्यक्ष महतोले काँकडभिट्टा, विराटनगर, वीरगंज, नेपालगंज र भैरहवा लगायतका मुख्य नाकामा कार्यकर्ताको उपस्थिति बढाउँदै भन्सार नाकाबन्दी गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
पूर्व/पश्चिम राजमार्ग अन्तर्गत तराइ मधेशमा विभिन्न जिल्लामा प्वाइन्ट तोकी त्यहाँ कार्यकर्ताको उपस्थिति बढाएर पूर्णत ठप्प पार्ने निर्णय समेत मोर्चाको बैठकले गरेको छ । हुलाकी सडकमा पनि मानव साङलो उतार्ने मोर्चाको निर्णय भएको छ ।
यसका अतिरक्त समान मुद्धा लिएर आन्दोलनरत तराई मधेसका अन्य दलहरूसित कार्यगत एकता गर्न मोर्चाले कार्यदललाई जिम्मा दिएको छ । कार्यदलमा सद्भावनाका मनिष सुमन, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, तमलोपाका गोविन्द चौधरी र तराइ मधेस सद्भावना पार्टीका रामनरेश राय छन् ।
हुलाकी न्यूज, काठमाडौं, ६ असोज । सप्तरीको राजविराजमा जारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले जारी मधेश आन्दोलनका सम्बन्धमा ठोस निर्णयहरु लिएको छ ।
मधेशी मोर्चाको बैठकले आन्दोलनलाई झनै सशक्त बनाउन नाकाबन्दी गर्ने निर्णय लिएको छ । काठमाडौंमा प्रमुख तीन दलको बैठकले आन्दोलनरत मधेशी दलसँग सहमतिको प्रयास खोजिरहँदा मधेशी मोर्चाले भने झनै सशक्त आन्दोलन गर्ने निर्णय लिएको हो ।
भारतीय सीमानाकामा नाकाबन्दी सशक्त पार्न मोर्चा आबद्ध चार दलले जिम्मेवारी बाँडफाँड गरेका छन् । मोर्चाको बैठकले पश्चिमको सुनौली नाका ठप्प पार्ने जिम्मेवारी तराई मधेश लोकतान्त्रिक पार्टीलाई दिएको छ । त्यस्तै, वीरगंजको रक्सौल नाका ठप्प पार्ने जिम्मेवारी सदभावना पार्टीले लिएको छ । बिराटनगरसँग जोडिएको जोगबनी नाका ठप्प पार्ने जिम्मेवारी संघीय समाजवादी फोरम नेपालले पाएको छ । काँकडभिट्टाको पूर्वी नाका ठप्प पार्ने जिम्मेवारी तराई मधेश सदभावना पार्टीले लिएको छ ।
मधेशी मोर्चाले जारी मधेश बन्द र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने मोर्चा स्रोतले जनाएको छ । यसका साथै मधेशी मोर्चाले काठमाडौं अब थाकिसकेको र छिटै घुँडा टेक्ने भन्दै मधेशी जनतालाई नआत्तिन आह्वान गरेको छ ।
बैठकमा मोर्चालाई विस्तार गर्ने विषयमा छलफल भएको र अरु मधेशी दललाई पनि मधेशी मोर्चामा आबद्ध गराउने निर्णय भएको स्रोतले जनाएको छ ।
राजविराजमा मंगलबार रातिदेखि नै मोर्चाको बैठक सुरु भएको थियो । राति ८ः३० बजेबाट सुरु भएको बैठक करिब २ः३० सम्म चलेको थियो ।
मंगलबार रातिको बैठकमा मधेश आन्दोलनको समीक्षा गरिएको थियो । बुधबार बिहान ९ बजेबाट फेरि मोर्चाको बैठक बसेको हो । लामो समयसम्मको छलफलपछि दिउँसो मात्र बैठकले ठोस निर्णयहरु लिएको हो ।




जय नेपाल,
कथित नेपाली, भारतीय दलालहरूले नेपालकाे केही तराइका भूभाग टुक्राएर सिक्कीमीकरण गर्न भारतसंग लम्पसार परि राेइकराइ गरी ७ बुँदा पेश गरेका थिए तर भारतले अन्तिममा अाएर हार खानु पर्याे, अप्रत्यक्ष नाकाबन्दी पनि फेल खायाे । अब काही नभएकाे जात्रा हाडिगाउँमा भने जस्ताे अाफ्नै देशमा नाकाबन्दी लगाउने रे । के याे भारतलाइ नाकाबन्दी गर्न खाज्या हाे , हामीले भनेकाे माग पनि राख्न सकेन भनेर ।