हुलाकी न्यूज, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनका विषयमा छलफलका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग थप समय माग गरेको छ । थप समयमा पार्टीभित्र छलफल गरेर संविधान संशोधनको विषयलाई टुँगो लगाउने आश्वासन एमालेले दिएको छ ।

चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको छलफलमा एमालेले मोर्चासँग समय माग गरेको हो । एकअर्काप्रति आक्रमक हुँदै आएको एमाले र मधेशी मोर्चा विहीबारको बैठकमा सकारात्मक देखिएको छ । बैठकमा दुई पक्षले सम्झदारीका साथ अगाडि बढ्ने वातावरण बनाउन सहमत भएका छन् ।

उक्त बैठकमा मधेशी मोर्चाको माग सम्बोधनका विषयमा प्रधानमन्त्रीले सरकारी पक्ष र मोर्चाबीच थप छलफल हुनु आवश्यक रहेको बताएका छन् । बैठकमा प्रधानमन्त्रीले मधेशी मोर्चाका नेताहरुलाई भने,‘संविधान संशोधनलाई अन्तिम टुँगो लगाउने अवस्था आइसकेको छ । एमाले पनि लचिलो भएको छ । थप समयको र छलफलको आवश्यकता छ ।’
बैठकमा सत्तारुढ दलका नेताहरुले मधेशी मोर्चालाई सम्झौता गरेर अगाडि बढ्न आग्रह गरेको थियो । तर मधेशी मोर्चाका नेताहरुले अव कुनै सम्झौता नहुने बताउँदै सरकारलेको गतिविधिले आगामी दिशानिर्देश गर्ने बताए ।

बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने,‘बैठकमा औपचारिक कुनै कुरा भएन तर प्रमुख प्रतिपक्षी एमालेले मधेशी मोर्चासँग थप समयको माग गरेको छ । पार्टीभित्र छलफल गरे संविधान संशोधनमा सहयोग गर्ने आश्वासन एमालेले दिएको छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता बामदेव गौतम, सुभाशचन्द्र नेम्वाड, राप्रपा अध्यक्ष कमल थापासहित मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।

बैठकको अन्तिममा मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई चीन भ्रमणको शुभाकामनासमेत दिएको तमसपाका अध्यक्ष महेन्द्र यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.