
हुलाकी न्यूज, काठमाडौं ३ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंन विना संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पुनः अस्वीकार गरेको छ ।
विहीबार साँझ सिंहदरबारमा मधेशी मोर्चा र प्रधानमन्त्रीबीच भएको छलफलमा प्रधानमन्त्रीले पुनः पुरानै कुरा दोहर्याएका छन् ।
यसअघि पनि प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई सीमाकंन बाहेक संविधान संशोधनमा सहयोग गरेर निर्वाचनमा भाग लिन आग्रह गरेको थियो ।
मोर्चाका नेताहरुले पुनः प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको छ । तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनलाई सैद्धान्तिक छलफलमा ल्याउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँगको बैठकपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले बैठकमा कुनै पनि सहमति नभएको बताए । यादवले छलफलमा कुनै ठोस सहमति नभएको बताउँदै प्रधानमन्त्रीले पुरानै कुरा दोह्रयाएको जनाए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाका अनुसार बैठकमा प्रधानमन्त्रीले आफ्नो दुःख व्यक्त गर्दै सीमाकंनसहितको संशोधन गराउन नसकिने सुनाए ।
बैठकमा मोर्चाका तर्फबाट उपेन्द्र यादवले संशोधनको कुनै पनि बुदामा मोर्चाको सहमति नरहेको बताउँदै प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गरे । यादवले अन्य विषयहरुलाई सैद्धान्तिक छलफलमा लग्न आग्रह गरेका थिए ।
मोर्चा श्रोतका अनुसार मधेशी मोर्चाका शिर्ष नेतृत्व र प्रधानमन्त्रीबीच सहमतिका लागि अन्तरिक छलफल जारी रहेको छ । मोर्चाभित्रको आन्तरिक विवादले सहमति हुन नसकेको श्रोतको भनाईछ ।



