
कृष्णराज सर्वहारी
यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ । झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन । त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान् ? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो झुपडी के प्रयोजनको लागि बनेको होला ?
भव्य महल सुदुरपश्चिम साहित्य समाजको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा रहेको उक्त दुई कट्ठा जग्गामा समाजले कार्यालय ठड्याउने अनुमति पाएको हो । त्यो सानो झुपडी भने थारू देउथानको हो । एक दशक अघिसम्म थारू देउथानको नाममा त्यो जग्गा थियो । तर कानुनी प्रकृयाले आफ्नो नाममा नगराइएकोले प्रज्ञा प्रतिष्ठानले आँखा गाड्यो । जबकि देउथानको नाममा थारू समुदायले कति पुस्तादेखि उपयोग गर्दै आएका थिए । आज स्वामित्वबाट बञ्चित हुनु परेको छ । थारूको देउथान हड्पेमा पाप पुन्यको कुरा पनि सोचिएन ।
देउथान जीर्णीद्वार गर्ने दायित्व पनि हड्पनेवालाहरूले सम्झिएनन् । थारू नागरिक समाज, धनगढीका संयोजक दिलबहादुर चौधरीका अनुसार सुदुरपश्चिम साहित्य समाजको कार्यालयको एक कोठा देउथान संचालक समितिलाई निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यो समेत पाइएको छैन । संयोजक चौधरी भन्छन्‐ देउथानको नाममा आधिकारिक रुपमै केही जग्गा पाउन आशावादी छौं, तर कुनै सुनुवाई भएको छैन ।
प्रत्येक थारू गाउँमा सबैलाई पायक पर्ने स्थानमा थारूहरूले देउथान बनाएका हुन्छन् । जुन मन्दिरको शैलीमा नभई थारूहरूको घरकै शैलीमा बनाइएका हुन्छन् । आफ्नो देउथानको लालपूर्जा थारू समुदायले कहीं बनाएका छैनन् । त्यसैले, ती देउथानको धनगढी क्षेत्रको झैं कतिबेला उठीबास हुने हो, ठेगान छैन । पूर्वी क्षेत्रका थारूहरूले गाउँ नजिकको कुनै ठूलो रुखको तल देउथानको क्षेत्र छुट्याउँदै मन्दिर नबनाई खुल्ला ठाउँमा ढुंगा, काठको देउताका प्रतीक बनाएका हुन्छन् । तर ती क्षेत्र पनि अधिकांशतः ऐलानी जग्गामै हुन्छन् । त्यसैले, पश्चिम मात्रै होइन, पूर्वी क्षेत्रका थारू देउथान पनि असुरक्षित छन् ।
कैलाली उदासीपुर‐१, नुक्लीपुरका जनता मरुवाको लालपूर्जा लिन पहल गरे । तर झन्झटिलो व्यवस्थाका कारण सकेनन् । मरुवाको लालपूर्जा लिएर मात्रै संरक्षण गर्ने मनसाय बनाएका उनीहरूले लालपूर्जा नपाएपछि संरक्षण गर्ने जाँगर मरेको छ । स्थानीय दिनेश दहित भन्छन्‐ पक्की मरुवा बनाएपछि, मरुवा बनाइएको ठाउँ मेरो हो भनेर कसैले दावी गर्दै भत्काउन आएपछि हामीले के गर्ने भनेर गाउँलेहरूले नमानेका हुन् । कैलाली उदासीपुर‐१, भगतपुरका गाउँलेहरू भने थरुहट तराई पार्टी नेपालको सहयोगमा आफ्नो गाउँको मरुवा पक्की बनाएका छन् ।
दाङको सौडियार‐५, राजपुर गाउँमा गाउँको अगुवाई गर्ने महटाँवा (बरघर) को नाममा पहिले पारिश्रमिक स्वरुप राजबास भन्ने छुट्टै १० कट्ठा जग्गा छुट्याइएको थियो । प्रत्येक बर्ष फेरिने बरघरले आलोपालो राजबास जग्गा उपभोग गर्थे । तर गाउँका गैरथारू जमिन्दारले आफ्नो नाममा ऐलानीको रुपमा रहेको राजबास जग्गा पास गराएपछि त्यसको नामोनिशान हराएको छ । गाउँको अगुवाई गर्ने बरघरहरूले पाउँदै आएको सामान्य पारिश्रमिकको बाटो पनि खोसिएको छ । सोही गाउँका शिक्षक माधव चौधरी भन्छन्‐ मुद्धामामिला गरेर लामो समयपछि त्यो जग्गा फिर्ता ल्याउन त सकिन्थ्यो । तर थारू समुदाय मुद्धामामिलामा फँस्न चाँहदैन । ठूला गैरथारू जमिन्दारसंग सोझा थारू गाउँले दुश्मनी मोल्न चाहेनन् ।
घोडाघोडी सुदुरपश्चिमकै प्रसिद्द तीर्थस्थल हो । यहाँ थारूहरूले पुर्खौदेखि मार्गशुक्ल पञ्चमीको दिनमा लवांगी पूजा गर्दै आएका छन् । मंसिरमा भित्र्याइएको नयाँ बाली परिवारका सदस्यले खानु अघि देउतालाई चढाइनुलाई लवांगी पूजा भनिन्छ । घोडाघोडी दिग्दर्शन (२०६६, पृ.४७) स्मारिकामा उल्लेख भए अनुसार २०४६ सालमा पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माणको सिलसिलामा मन्दिर क्षेत्रको भित्ता कटान गर्दा ठूलो अजिंगर निस्केर डोजरमा आक्रमण गरेको थियो । अजिंगरलाई भगाउन खोज्दा डोजर नै चलेन । पछि थप दुई नयाँ डोजर ल्याएर खन्दा पनि मन्दिर स्थलमा डोजर स्टार्ट नै भएन ।
साँडेपानी गाविस, बक्लहियाका डेश्बन्ढ्या थारू गुर्वा पर्नाहा चौधरीले बिशेष पूजापाठ गरी राजमार्ग निर्माण गर्ने ठेकेदारलाई घोडाघोडी क्षेत्रमा मन्दिर बनाउने बाचा बन्धन गराएपछि मात्रै डोजरले काम गरेको थियो । २०५५ सालमा मन्दिर निर्माण त भयो । तर मन्दिरभित्र शिवलिंग स्थापना गरियो । थारू गुर्वाहरूले थारू परम्परा अनुसार पूजा गर्न नपाए अनिष्ट हुने भनेपछि शिवलिंगलाई बाहिर ल्याइयो । त्यहाँको पुरानो मन्दिरमा हाल थारू परम्परागत चलन अनुसार सुंगुर, हाँस, कुखुरा, परेवा बलि दिने, जाँड, रक्सी चढाइने चलन त शुरु भएको छ ।
तर घोडाघोडी क्षेत्रमा जथाभावी हिन्दु मन्दिर निर्माण भएर थारू देउथान ओझेलमा परेको छ । पहिले थारूहरूले यस क्षेत्रको नाम घोडीघोडा भन्ने गरेकोमा नाम पनि बिगारेर घोडाघोडी नगरपालिका नै बनाइएको छ । घोडाघोडी व्यवस्थापन मूल समितिमा पनि गैरथारूहरूकै बाहुल्यता छ ।
त्यस्तै, दाङदेउखुरीको रिहार क्षेत्रमा थारू महिला पूजारीले पूजा गर्ने बगार बाबा पुरानो थारू मन्दिर पनि त्यस क्षेत्रमा जथाभावी हिन्दु मन्दिर निर्माण भएर ओझेलमा परेको छ । घरपालुवा पशुपंक्षीको सुस्वास्थ्यको लागि यहाँ अहिले पनि बगार बाबाको पूजाआजा गरिन्छ । बर्षातको समयमा देउखुरी क्षेत्रका अधिकांश गाउँलेहरूले रेहारमा गाईबस्तुलाई रेह (नुनिलो ढुंगा) चटाउन तथा चरिचरनको लागि ल्याउने गरेकोमा स्थानीय सामुदायिक वनले तारबार गरेपछि त्यसबाट समेत बञ्चित भएका छन् ।
देउखुरी उपत्यकालाई काम काज गर्न सजिलो वनाउने हिसावले छ प्रगन्नामा विभक्त गरिएको छ । तीमध्ये दुमदुम भवानी, खैरी, जोगिया प्रगन्ना पनि एक हो । थारू भाषामा दुम्ना भन्नाले खेतमा रहने कुलोको मुहानै निरको अग्लो ढिस्कोलाई बुझिन्छ । यस भवानीको स्थापना पनि खेतको सोही दुम्नामा गरिएको थियो र यसै दुम्नाको नामवाट पछि गएर दुमदुम भवानी हुन गएको हो । तर थारूहरूको तीर्थस्थल दुमदुम भवानी मन्दिर क्षेत्रमा प्राथमिक विद्यालय स्थापनाले मन्दिरको सौन्दर्य बिनाश भएको छ ।
बर्षेनी यस देउथानमा खासगरी ् डश्या, ढुरिया, लवाँली र गाँधी पूजा गरी चारपटक पूजा गरिन्छ । यस देउथानको ढोका चौवीसै घण्टा खुल्ला राख्ने चलन रहेको छ । यस सम्वन्धमा एउटा चाखलाग्दो सत्य घट्ना रहेको छ । जस अनुसार पूजारीहरूको पूजा गरी सकेपछि ढोका लगाई दिने गर्दथे । तर भोलिपल्ट बिहान जाँदा खुल्ला पाउने गर्र्दथे । यो खवर तात्कालीन प्रगन्नाका प्रधान दान हादुर चौधरीकहाँ पुग्यो । उनी आफै आएर उक्त देउथानको पूजा गरी ठूलो ताल्चा लगाएर भोलिपल्ट हेर्न आउँदा पुनः खोलिएको पाए । त्यसपछि उनैको आदेश अनुुसार हालसम्म उक्त देउथान बर्षैभरि हरेक दिन चौवीसै घण्टा खुल्ला राख्ने गरी आएको छ । खुल्ला ढोकाले गर्दा विद्यार्थी केटाकेटीले शौच आदि गरिदिने, देउता फुटाइदिने गरेका छन् । यसरी विद्यालयलये मन्दिर क्षेत्रको भाग ओगट्दा मन्दिरको अस्तित्वमा खतरामा छ ।
उता रुपन्देहीको दुधराक्ष–१ भँडछ गाउँमा मलमल वावा चौरा बाबाको डिउठन्वामा वर्षेनी साउनमा ठूलो पूजा गरी सँगुरको वलि अनिवार्य रुपमा चढाइन्छ । स्थापनाकालदेखि यस डिउठन्वाको पूजारी थारूहरू रही आएको र थारू विधि अनुसार पूजा पाठ भई आएकोमा २०४२ साल देखि गैरहरूले हस्तक्षेप गरेका छन् । हाल आएर यसको नाम फेरेर मलमला देवी राखेका छन् । बाबालाई देवी नामाकरण गरिनु बिरोधाभास हो । सौराहा जाने बाटोमा पर्ने चितवन जिल्लाको नामाकरणसंग जोडिएको चित्रसेन बाबामा थारू पूजारी छन् ।
यसको नाममा रहेको जग्गा पनि स्थानीयहरूले कब्जा गरिसकेका छन् । यसरी थारूहरूको ऐतिहासिक देउथान हाल आएर अरूको कव्जामा गइरहेको छ । यसको पुख्र्यौली नाम बिगारेर थारूहरूको इतिहास पनि नामेट गरिदैछ । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । थारू गाउँका संरक्षणकर्ता देउथान आफै त असुरक्षित छन् भने थारू समुदाय कसरी पो सुरक्षित होला ?
थारुनकेबाट



