
हुलाकी न्यूज, काठमाडौं १८ जेठ । पहिलो पटक हुन लागेको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई जिताउन मधेशी–थारु–मुस्लिमसहित आदिवासी जनजातिहरु पनि सक्रिय भएका छन् ।
समावेशी र संघीयतासहित पहिचान पक्षधरको रुपमा चिनिएको एक मात्र कर्मचारी संगठन मधेशी कर्मचारी मञ्चलाई पहिचान पक्षधरहरुले संयुक्त रुपमा मतदान गर्ने भएको छ ।
बुधबार विहान नौ बजेबाट सुरु हुने मतदानमा मतपत्रको क्रम संख्या ५ मा रहेको मधेशी कर्मचारी मञ्चलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले आधिकारिक रुपमै समर्थन गरेको छ ।
मोर्चाका नेताहरुले यसअघि नै मञ्चलाई मतदान गर्न सार्वजनिक रुपमै अपील गरिसकेका छन् ।
नेपाल भरीमा कुल निजामित कर्मचारी ५४ हजारको हाराहारीमा छन् भने मधेशी करिब ८ हजारभन्दा बढी रहेको छ । मधेशी निजामति कर्मचारीलाई थारु, मुस्लिम र आदिवासी जनजातिले समर्थन गरेकोले २० हजारको हाराहारिमा मत पर्ने मञ्चका उपाध्यक्ष सुजित कुमार झाले बताए । २० हजारको हाराहारीमा मत परेको खण्डमा कर्मचारी मञ्च नेपालको पहिलो शक्तिशाली संगठन हुनेछ ।
झाले समावेशीता र संघीयताको पक्षधर एउटा मात्रै संगठन मधेशी कर्मचारी मञ्च रहेकोले सम्पूर्ण समावेशी र संघीयता पक्षधरले मतदान गर्ने विश्वास व्यक्त गरे ।
सहयोगमा राजनीतिक दल र सर्वसाधारण
मधेशी निजामति कर्मचारी मञ्चलाई सम्पूर्ण मधेशवादी दलले समर्थन गरेको छ भने सर्वसाधारणहरुले पनि सहयोग गरेका छन् ।
प्रत्येक जिल्लाको सरकारी वकील कार्यालयमा हुने मतदानमा मधेशीलाई सहयोग गर्न स्थानीयवासीहरुले नै कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
मञ्चले प्रचार प्रसारका लागि केन्द्र र जिल्लामा समिति बनाए पनि अन्य क्षेत्रका व्यक्तिहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको झा बताउँछन् ।



