
हुलाकी न्यूज, जनकपुरधाम १८ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनकपुर स्तरिय दुई दिने ब्यूरो बैठक सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त बैठकमा हाल जारी गरिएको संविधान खारेजीलगायतका विषयमा छलफल भएको छ । उक्त बैठकबाट तराई–मधेश अभियान चलाउने निर्णय गरेको छ ।
बैठक पछि सोमबार आयोजित पत्रकार सम्मेलनमा पोलिट ब्युरो सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज ओम प्रकाश पुनले घोषित संविधानलाई खारेज गरी पुर्नलेखन गर्नुपर्ने माग गरेका छन् ।
जारी भएको संविधानमा एड्स लागेको बताउँदै उनले भने,‘किराफट्याङग्राले खाइसकेको संविधानले जनताको हित गर्दैन ।’
एकीकृत तराई मधेश जनजागरण अभियान संचालन गर्ने निर्णय भएको बताउँदै मधेश तथा पहाडमा बसोवास गर्ने मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारुलगायतका समूदायको अधिकारको कुरा संविधानमा उल्लेख नभइको दाबी गरे ।
उनले मधेशी मोर्चाको मागप्रति साकारात्मक भएपनि मोर्चाको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाए । मधेशी मोर्चा प्रतिक्रियावादी संसदीय व्यवस्थालाई स्वीकार गरेकाले आफूहरुले उनीहरुको आन्दोलनप्रति समर्थन जनाउन नमिल्ने उनले जिकिर गरे ।
पत्रकार सम्मेलनमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गौरी नारायण मंडल, मिथिला स्वायत्त प्रदेशको जनपरिषद प्रमुख मो.आदम कवाडी, अखिल क्रान्तिकारी जनकपुर ब्युरो सदस्य नागेन्द्र दास, पार्टीका जिल्ला सचिव देवनारायण साहलगायतको उपस्थिति थियो । पार्टीका वरिष्ठ नेता चित्रबहादुर आलेको विशेष उपस्थितिमा १५ र १६ गते जनकपुरमा बसेको जनकपुर ब्युरो बैठकमा धनुषासहित महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र सिन्धुलीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।



