
हुलाकी न्यूज, बलरामपुर(उत्तरप्रदेश) १७ जेठ । थरुहटमा जारी आन्दोलन बारे भारतको केन्द्र सरकारलाई ध्यानाकर्षण गराइने भएको छ । भारतको उत्तर प्रदेशका स्वास्थ्य मन्त्री एसपी यादवले मधेश–थरुहटमा जारी आन्दोलनबारे औपचारिक रुपमै केन्द्र सरकारलाई जानकारी गराउने बताएका छन् ।
उत्तर प्रदेशको बलरामपुरमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय थारु सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री यादवले नेपालमा थारुहरुमाथि राज्य पक्षबाट दमन भएको बताउँदै अन्तर्राष्ट्रिय जगतले पनि नेपाली सरकारको विरोध गरिरहेको बताए ।
त्यस्तै युपीका सांसद आदित्यनाथ महराजले मधेश–थरुहटमा भइरहेको आन्दोलनलाई आफुले नजिकबाट नियाली रहेको बताउँदै अधिकारको आन्दोलनमा आफ्नो सहयोग रहने बाचा गरे । भारतको राज्य र मधेश–थरुहटबीचको सम्बन्धलाई अझ जनस्तरसम्म लग्नु पर्ने बताए ।
त्यस्तै पुर्व कमिसनर चन्द्रराम चौधरीले नेपालमा थारुहरुले आफ्नो अधिकारको लागि गर्ने हरेक आन्दोलनमा सहयोग रहने बताए ।
मे २८ देखी २९ सम्म चलेको उक्त सम्मेलनमा मधेश–थरुहटको झापादेखि कञ्चनपुरसम्मका थारुहरुको सहभागिता रहेको थियो ।
त्यस्तै भारतको बलरामपुर, लखनपुर, लखनाउ, बहराइच, उतराखन्डलगायत बिहारका विभिन्न ठाउँबाट थारु नेता, प्राधान र अगुवाहरु सहभागी थिए । कार्यक्रममा विभिन्न ठाउँबाट आ–आफ्नो थारु भेषभुषा झल्किने पोशाक लगाई सर्वसाधारणहरु सहभागी भएका थिए ।
कार्यक्रममा विभिन्न ठाउँका थारु गीत, संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।
थरुहटका थारुहरुले भने
उक्त सम्मेलनमा पुगेका मधेश–थरुहटका थारुहरुले आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाली सरकारमाथि दबाब दिन आग्रह गरेका थिए ।
सम्मेलनमा बोल्दै थारु अराउन्ड दि वल्डका अध्यक्ष महाबिर चौधरीले नेपालको संविधानमा थारुको माग र मुद्दा सम्बोधन नगरिएको जानकारी गराउँदै मानव अधिकार हनन्को अवस्था दयनिय रहेको बताए ।
थरुहट आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेको र अहिले पनि थरुहट आन्दोलनकारीलाई धरपकड गरि राखेको अध्यक्ष चौधरीले बताए । उनले विश्व भरीको थारु एक हुनुपर्ने धार्ना राखे ।
त्यस्तै थारु कल्याणकारिणी कपिलवस्तुका जिल्ला सभापति जन्जिर चौधरीले थारुहरुले फेरि आन्दोलनको घोषणा गरेको जानकारी गराए । चौधरीले आन्दोलनलाई निष्कर्षमा लान संविधानको कमी कमजोरीको बिषयमा शहरदेखी गाउँसम्माका जनतामा जन्चेतना आवश्यक रहेको बताए ।
त्यसैगरी थारु बिद्यार्थी उपत्यका समितिका सचिव सन्जिब थारुले थारुको आन्दोलनमा अर्थिक र असल नेतृत्व खाचो रहेको जानकारी गरएका थिए ।




