हुलाकी न्यूज, जनकपुरधाम ७ चैत । महोत्तरीमा दुई बालकको अपहरण पछि हत्याको घटना सेलाउन नपाउँदै जनकपुरधाममा एक बालकको अपहरण पश्चात हत्या भएको छ । जनकपुर उपमहानगरपालिका १९ वेंगाशिवपुरका मो.असलम राईन कवारीका ५ वर्षका छोरा मो.असरफ राईनको अपहरण पश्चात हत्या भएको परिवारजनले जनाएको छ ।
शनिवार विहान १० बजे घरबाट खेल्नेक्रममा वेपत्ता भएका असरफको शव आईतवार विहान घर नजिक गहँुको खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय मिथिलाञ्चल एफएमका अनुसार बालकलाई कुटपीट एवं घाँटी च्यापेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । बालकको टाउकोमा चोटपटकको डाम पनि देखिएको प्रहरीले जनाएको छ । बालक असरफका बुबा असलम बैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् ।
एक छोरा र दुई छोरी रहेको असरफका परिवारमा एक मात्र छोराको हत्या भएपछि आमा अपसना खातुन अचेत भएकी छन् भने गाउँसमाजनै शोकमा डुबेका छन् ।
बालकका काका मो.सोमन राईनका अनुसार असरफ घरबाट शनिवार विहानै वेपत्ता हुँदा जिल्ला प्रहरी लगायतमा अपपहरण भएको हुन सक्ने भन्दै लिखित तथा मौखिक जानकारी गराउँदै आफन्त नातागोता कहाँ खोजखबर जारी राखेको थियो । तर कतै फेला नपरेको र आईतवार विहानै गहुँखेतमा बालकको शव हत्या गरेर फालिएको अवस्थामा फेरा परेको उहाँले बताउनु भयो ।
बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीषक नकुल खरेलले जानकारी दिनुभयो ।
तस्बिर : शैलेन्द्र क्रान्ति



