
हुलाकी न्यूज, काठमाडौं ३ चैत । महोत्तरी घटनामा ३ जना मधेशी मोर्चाका कार्यकर्ताहरुलाई जेल चलान गरिएको छ भने २५ जनामाथि वारेन्ट जारी गरिएको छ । तर मोर्चाका केन्द्रीय नेताहरु उदासिन देखिएका छन् ।
वारेन्ट जारी गरिएका मध्येका एक नेता तथा सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले महोत्तरी घटनामा मधेशी मोर्चाका केन्द्रीय नेताहरु उदासिन देखिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
यादवले हुलाकी न्यूजसँग भने,‘गरिब कार्यकर्ताहरुमाथि वारेन्ट जारी गरिए पछि उनीहरुको घरमा चुल्होसमेत बलेको छैन । तर मोर्चाका केन्द्रीय नेताहरु आराम गर्दैछन् । कतिपय कार्यकर्ताहरु मोर्चाका केन्द्रीय नेताहरुप्रति आक्रोसित भएका छन् । केन्द्रीय नेताहरुले वारेन्ट जारी गरिएपछि एउटा प्रेस विज्ञप्ति पनि जारी गर्न सकेको छैन ।’
महोत्तरीमा असई थमन विकको मृत्युको घटनामा मुछिएका तीन जना जेल चलान भएका छन् । उनीहरुको परिवारमा झनै त्रास छाएको स्थानीय नेताहरुले बताएका छन् ।
२८ जना आन्दोलनकारीहरुमाथि सरकारी यातना सुरु हुँदा पनि मधेशी मोर्चाका नेताहरुले ध्यान नदिएको स्थानीय नेताहरुको आरोप रहेको छ ।
मधेशी मोर्चाका नेताहरुले जेल चलान गरिएका र वारेन्ट जारी भएका नेता तथा कार्यकर्ताहरुप्रति ध्यान दिएन भने अवको आन्दोलनमा जानबाट मधेशीहरु पछि हड्ने स्थानीय नेताहरुलाई उधृत गर्दै यादवले बताए ।



