रंजन भण्डारी, जलेश्वर १ चैत । महोत्तरीका आन्दोलनकारीहरुको पक्षमा बहस गर्ने अधिवक्ताहरुको ताती लागेको छ । एक जना प्रहरीको मृत्यु सम्बन्धी घटनामा राज्यले २८ जना आन्दोलनकारीमाथि मुद्दा चलाएपछि आन्दोलनकारीको पक्षमा ५६ जना अधिवक्ताहरुले वहस गर्दैछन् ।
महोत्तरीमा गत भाद्र २५ गते शसस्त्रका असई थमन विश्वकर्माको मृत्यु तथा एम्बुलेन्स आगजनी मुद्दामा पक्राउ परेका ३ जना तथा फरार भनिएका २५ जना गरि कुल २८ जनामाथीको मुद्दामा प्रतिपक्षबाट ७ जना अधिवक्ताले मात्र सोमबार बहस सकेका छन् ।
बार एशोसिएसन महोत्तरी र धनुषाका जम्मा ५६ जना अधिवक्ताहरु प्रतिवादीको तर्फबाट वहस गरिरहेकोमा जम्मा ७ जना अधिवक्ताले सोमबार समय अभावका कारण बहस गर्न सकेका हुन् ।
प्रहरीको कडा सुरक्षाका बिच भएको बहसमा नेपाल बार एशोसिएसन महोत्तरीका अध्यक्ष विजय ठाकुरले बहसको सुरुवात गर्दै सरकारी अधिवक्ता सुदिप दंगालले पेश गरेका एक अडियो क्लिप, दुई भिडियो क्लिप तथा चारजना साक्षीको बयानमाथि प्रतिप्रश्न गर्दै अडियो क्लिप जम्मा ६७ प्रतिशत मेल खाएको जुन पर्याप्त नभएको, भिडियो क्लिपमा पक्राउ परेकाहरुको उपस्थिति नदेखिएको तथा चारैजना साक्षी घटना हुनु पुर्व नै भागेको तथा कसैले हत्या गर्नेहरुको अनुहार नदेखेकोले यीनीहरुले नै हत्या गरेको हो भनि भन्ने ठोकुवा गर्न नसकिने जिकिर गरेका थिए ।
साथै पक्राउ परेका तीनै जनालाई कुटपिट गरी प्रहरीले नै लेखेर ल्याएको वयान माथी जवर्जस्ती सहिछाप गराएको भनी तीनै जना अभियुक्तले न्यायाधीशलाई वयान दिइसकेपछि प्रहरीले पेश गरेको अभियुक्त आधारहिन भएको समेत वहसका क्रममा अधिवक्ताहरुले जिकिर गरेका छन् ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत आफ्नो कार्यकर्ताहरु माथी झुठा मुद्दा लगाएको भनी जलेश्वर बजार बन्द गराएको छ भने ठाउँ ठाउँमा एक पक्षीय फैसला नगर्न व्यानर समेत लगाएका छन् ।





