संजय तिवारी, कलैया (बारा) ५ असोज । प्रहरीले जिल्लाको सदरमुकाम कलैयाको घर घरमा पसेर सर्वसाधारणलाई कुट्न थालेपछि यहांका जनता त्रसित बनेका छन् ।
बिना कारण सशस्त्रका २०–२५ जना प्रहरीहरुले उत्पात मचाउदै कलैया नगरपालिका को वडा नम्बर ५ पन्नाबागमा सर्वसाधारणको घरघरमा पसी कुटपिट गर्नथालेपछि जनता त्रसित बलेका हुन् ।
मंगलवार उनीहरुले पन्नाबागस्थित गुप्ता सिनेमा हल नजिक रहेको हिरालाल पटेलको घरमा पसी उनी र उनका छोराछोरी, भतिजा लगायतकालाई निर्घात कुटपिट गरी घाईते बनाएका छन् भने नजिकैको गुप्ता पेट्रोल पम्प नजिक पनि २ जनालाई बिना कारण जुत्ता र बन्दुकको नालले पिटी घाईते बनाएका छन् ।
बन्दिको बेला आफ्नो साथीसंग घरमा पढाई गरीरहेका पटेलका छोरा राजा पटेल, भतिजा प्रविण पटेल, उनका साथी कृषि बिकाश बैंकका कर्मचारी दिनेश पंडित र उनका छोरीहरुलाई साम्प्रदायिक गाली गर्दे कुटपिट गरेको पीडित हिरालाल पटेलले सञ्चारकर्मिहरुलाई बताए । उता गुप्ता पेट्रोल पम्प नजिकै शैलेन्दै शर्मा र रामलखन महतोलाई कुटपिट गरेको छ । पिडित पटेलको अगाडिदेखिनै खुट्टा भाचेर घाईते छन् ।
बिहानैदेखि प्रहरीहरुले दैनिकरुपमा संयुक्त लोकतान्त्रिक मधेशि मोर्चाले प्रदर्शन गर्ने ठाउँलाई कब्जामा लिएर आफै त्रास फैलाईरहेको थियो, नेपाल प्रहरीका डीएसपी बिनोद शर्माको नेतृत्वमा रहेका प्रहरीहरुले कलैयाको दही बजारमा तरकारी किन्न आएकि अन्दन्जी १६ बर्षिय एक युवतिलाई दुव्र्यवहार गर्दै कुटपिटसमेत गरेको स्थानीयहरुले बताए ।
प्रहरीले बिहानैदेखि बिभिन्न ठाउंलाई नियंत्रणमा लिई नागरीकलाई डराईरहेको थियो । तर प्रहरीले भने त्यसो नगरेको जनाएको छ । यता प्रहरीले बाराको गाबिस बहुअरीको वडा नम्बर ६ मा सयौंको संख्यामा रहेका प्रहरीले घरघरमा पसी कुटपिट गरेको त्यहाँका स्थानीय तथा नेपाल बार एसोसिएसन बाराका अध्यक्ष रामचन्द्र शिंहले जनाए । प्रहरीले स्थानीय मुन्ना पटेललाई पक्राउ गरी लगेको समेत शिंहले बताए ।
यता प्रहरी ज्यादतिको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई प्रहरीले दुव्र्यवहार गरेका छन् । घरमा पसी कुटिरहेको अवस्थामा घटनास्थलमा पुगेका सञ्चारकर्मिहरुलाई सशस्त्र प्रहरी दुव्र्यवहार गरेका हुन् । प्रहरीको कृयाकलापका बारे सशस्त्रका एसपी मोहन शिंह केसीले समेत पत्रकारहरुलाई आन्दोलनकारी भन्दै दुवर््यवहार गरे ।
यसैबीच नेपाल पत्रकार महासंघ बाराले जिल्लाका पत्रकारहरुमाथि शुरक्षाकर्मी र आन्दोलनकारी दुबैतर्फबाट सुरक्षाको चुनौति रहेको भन्दै दुबै पक्षलाई समाचार संकलनको लागि अवस्थाको सृजना गर्न माग गरेको छ । महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डेयले एक बिज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।




